नानू!
तिमी पनि हुकुमबासी हौ र?
यो शहरका कुना–कन्दरामा हल्ला छ—
हुकुमबासीहरू लखेटिँदैछन्,
धूलो उडाउँदै, सपनाहरू कुल्चिँदैछन्।
तर तिमी…

म तिमीलाई देख्छु, नानू !
चिसो सडकको काखमा सुतिरहेकी,
आकाशलाई ओढेर,
भोकलाई सिरानी बनाएर।
तिमीले कहिल्यै हुकुम त मानिनौ होला,
तर नियतिको आदेशले
तिमीलाई यहाँ ल्यायो,
जहाँ मान्छेहरू छन्,
तर मानवता हराएको छ।
सहरका बत्तीहरू झलमल्ल बल्छन्,
तर तिम्रो आँखामा अँध्यारो गहिरो छ।
मानिसहरू हतारमा गुड्छन्,
तर तिम्रो समय
त्यहीँ रोकिएको छ
एउटा चिसो साँझमा।
हुकुमबासी भनेर लखेटिन्छन् उनीहरू,
तर उनीहरू
कुन हुकुमका दोषी?
गरिबीका?
वा समाजको मौनताका?
नानू,
तिम्रो कथा कसैले लेखेन,
तर तिम्रो आँसु
यो शहरकै कविता हो—
अधुरो, तर सत्य।
• तनहुँ । १६ बैशाख २०८३ बुधबार ।


























