प्रहार समाचार । तनहुँ, २७ जेठ २०८३ बुधबार । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा पछिल्लो समय आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण र भरोसा उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ को सेवा प्रवाह विवरणअनुसार चिकित्सालयमा बहिरङ्ग सेवा, योग, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसूत्र, प्रयोगशाला तथा फिजियोथेरापी सेवाप्रति सेवाग्राहीको चाप निरन्तर बढिरहेको छ। तर जनशक्ति अभावका कारण सबै सेवाग्राहीलाई अपेक्षित स्तरमा सेवा दिन चुनौती थपिएको चिकित्सालयले जनाएको छ।

चिकित्सालयको तथ्यांकअनुसार वर्षभरि हजारौं सेवाग्राहीले बहिरङ्ग सेवा लिएका छन् भने योग, पञ्चकर्म र विभिन्न आयुर्वेदिक उपचार सेवामा समेत उल्लेख्य सहभागिता रहेको छ। विशेषगरी दीर्घरोग, हाडजोर्नी, नसासम्बन्धी समस्या तथा जीवनशैलीजन्य रोगका बिरामी आयुर्वेद उपचारतर्फ आकर्षित भइरहेका छन्।

प्रदेश आयुर्वेद चिकित्सालयकी आयुर्वेद चिकित्सक स्मारिका बस्नेतका अनुसार आधुनिक उपचारसँगै आयुर्वेदिक उपचारप्रति जनविश्वास बढ्दै जाँदा सेवाग्राहीको संख्या पनि वर्षेनी वृद्धि भइरहेको छ। उनले प्राकृतिक तथा दीर्घकालीन उपचार पद्धतिका कारण आयुर्वेदप्रति नागरिकको आकर्षण बढेको बताइन्।

यता वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले सेवाग्राहीको चाप बढे पनि आवश्यक जनशक्ति नहुँदा सेवा विस्तार गर्न कठिनाइ भइरहेको जानकारी दिए। उनका अनुसार चिकित्सालयमा स्नेहन, स्वेदन, बाह्य वस्तिकर्मअन्तर्गत जानु बस्ति, कटी बस्ति र ग्रीवा बस्ति, शिरोधारा, पत्रपिण्ड स्वेद, बालुका स्वेद, अग्निकर्म, नस्यकर्म तथा जलनेतीजस्ता प्रभावकारी आयुर्वेदिक उपचार सेवा सञ्चालन हुँदै आएका छन्। तर ती सेवालाई अझ व्यवस्थित र व्यापक बनाउन दक्ष जनशक्तिको आवश्यकता रहेको उनले बताए।चापागाईंका अनुसार हाल चिकित्सालयमा केवल दुई जना अभ्यङ्गकर्ता मात्र कार्यरत छन्।

सीमित जनशक्तिका कारण सबै सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको र कतिपय उपचार सेवा विस्तार गर्न समस्या भइरहेको उनले बताए। पर्याप्त जनशक्ति व्यवस्थापन हुन सके आयुर्वेद उपचारको पहुँच र प्रभावकारिता अझ बढ्ने उनको भनाइ छ। आयुर्वेदप्रति नागरिकको विश्वास निरन्तर बढ्दै गइरहेको अवस्थामा आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। अन्यथा सेवाग्राहीको बढ्दो चाप र सीमित स्रोतसाधनबीच गुणस्तरीय सेवा प्रवाहमा थप चुनौती सिर्जना हुने चिकित्सालयका कर्मचारीहरू बताउँछन् ।





















