प्रहार समाचार । तनहुँ, २७ जेठ २०८३ बुधबार । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकको रक्षा गर्न तथा सूचना र विज्ञापन वितरण सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय तत्काल खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय तनहुँ अगाडि धर्नामा बसेका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको निर्देशनअनुसार आज आयोजित धर्ना कार्यक्रममा महासंघ तनहुँ शाखाका सभापति डिपी अधिकारी, पूर्व अध्यक्षहरू प्रकाशचन्द्र भट्टराई र ओमकार आचार्य, पूर्व उपाध्यक्ष शंकरराज नहर्कीलगायत जिल्लाका क्रियाशील पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।धर्नामा सहभागी पत्रकारहरूले लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि विभिन्न माध्यमबाट हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका थिए।

उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पार्दै सञ्चारमाध्यमलाई सूचना र विज्ञापन वितरणमा गरिँदै आएको विभेदपूर्ण व्यवहार तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन्।पत्रकारहरूले संविधानले प्रत्याभूत गरेको नागरिकको सुसूचित हुने अधिकार तथा सञ्चार क्षेत्रको स्वतन्त्र अभ्यासमाथि आघात पुग्ने गरी गरिएका निर्णयहरू फिर्ता लिनुपर्नेमा जोड दिएका थिए।

धर्ना कार्यक्रममा प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चार क्षेत्रप्रति गरिँदै आएको विभेदको अन्त्य तथा लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको थियो।महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति अधिकार र सञ्चार क्षेत्रको स्वायत्ततामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध देशव्यापी रूपमा चरणबद्ध आन्दोलन जारी रहने चेतावनी समेत दिएको छ।




















