प्रहार समाचार । तनहुँ, २८ जेठ २०८३ बिहीबार । तनहुँको व्यास नगरपालिकाले विकास निर्माणका काममा देखिएको ढिलासुस्ती र बेरुजु फर्छ्योटमा कडाइ गर्ने निर्णय गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज विहान बसेको नगर कार्यपालिकाको २ सय ३९औं बैठकले ठेक्का लागेका योजनाको प्रगति सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै निर्माण व्यवसायीबाट लिखित प्रतिबद्धता लिएर मात्र औचित्यका आधारमा निर्धारित अवधिसम्म म्याद थप गर्ने निर्णय गरेको हो।

बैठकमा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुतिका लागि असार १० गते बिहान ११ः३० बजे नगर सभाकक्षमा ४५औं नगरसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। नगरसभामार्फत आगामी वर्षको विकास, पूर्वाधार र सेवा प्रवाहका प्राथमिकता तय गरिने नगरपालिकाले जनाएको छ। त्यसैगरी चालु आर्थिक वर्षमा स्वीकृत भएका केही महत्वपूर्ण योजनाहरू बजेट अभाव तथा निर्माणस्थलसम्बन्धी समस्या कारण हालसम्म ठेक्का प्रक्रियामा जान नसकेको पाइएपछि त्यस्ता योजनाको स्थान परिवर्तन गरी आवश्यक बजेट सुनिश्चित गर्दै तत्काल ठेक्का प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।

नगरपालिकाले लामो समयदेखि रोकिएका योजनालाई कार्यान्वयनको चरणमा लैजान यो निर्णय महत्वपूर्ण हुने जनाएको छ।बैठकले महालेखा परीक्षकको प्रतिवेदन २०८३ मा उल्लेख भएका असुलउपर गर्नुपर्ने बेरुजु तत्काल दाखिला गर्न सम्बन्धित सरोकारवालालाई निर्देशन दिने निर्णय समेत गरेको छ। यसअघि मिति २०८३ जेठ २२ गते बसेको २ सय ३८औं कार्यपालिका बैठकका निर्णयहरूको समेत समीक्षा गरिएको प्रवक्ता सुरेश थापाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।




















