हेडलाईनव्याससमाचारगण्डकी

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

प्रहार समाचार । तनहुँ, २८ जेठ २०८३ बिहीबार । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको औंल्याइएको छ। डिभिजन वन कार्यालय तनहुँद्वारा आयोजित ‘मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम’मा बोल्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले मानव र वन्यजन्तुबीचको सहअस्तित्व कायम राख्न सचेतना, समन्वय र जिम्मेवार सञ्चार आवश्यक रहेको उल्लेख गरे।

 

उनले मानव–वन्यजन्तु द्वन्द्वका घटनाबारे सत्य, सन्तुलित र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै अफवाह र भ्रामक सूचनाले समस्या थप जटिल बनाउने बताए। सञ्चारमाध्यमले वन्यजन्तुप्रति अनावश्यक डर र नकारात्मक धारणा फैलिन नदिई समाधानमुखी पत्रकारितालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। रानाभाटले समुदायस्तरमा संरक्षणसम्बन्धी सन्देश पुर्‍याउन तथा वन्यजन्तुसँग सुरक्षित व्यवहारका उपायबारे जनचेतना फैलाउन सञ्चारकर्मीको योगदान महत्वपूर्ण हुने उल्लेख गरे।कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका सभापति डिपी अधिकारीले मानव–वन्यजन्तु द्वन्द्वका विषयमा सञ्चारमाध्यमले संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।

उनले प्रभावित समुदायको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउनुका साथै संरक्षण र सहअस्तित्वका सन्देशलाई प्रभावकारी रूपमा प्रवाह गर्न पत्रकारहरू अग्रसर हुनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराईले मानव–वन्यजन्तु द्वन्द्वका घटनाको समाचार सम्प्रेषण गर्दा तथ्य, प्रमाण र सन्तुलनलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। उनले सञ्चारमाध्यमले समस्या मात्र उजागर गर्ने नभई समाधानका उपाय र सफल अभ्यासलाई समेत प्राथमिकताका साथ उठान गर्नुपर्ने बताए।महासंघका पूर्व उपाध्यक्ष शंकरराज नहर्कीले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सञ्चारकर्मी समुदाय र सरोकारवाला निकायबीचको महत्वपूर्ण सेतु भएको उल्लेख गर्दै समन्वय, जनचेतना अभिवृद्धि र संरक्षण शिक्षाको प्रवर्द्धनमा जोड दिए। उनले वन्यजन्तु उद्धार वा नियन्त्रणका घटनामा उत्तेजना फैलाउने सामग्री प्रसारण गर्नुको सट्टा जिम्मेवार र मर्यादित पत्रकारितामार्फत सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले मानव–वन्यजन्तु द्वन्द्वका कारण, प्रभाव र न्यूनीकरणका उपायबारे व्यापक जनचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए। उनीहरूले स्थानीय समुदाय, वन कार्यालय, स्थानीय तह र संरक्षणसँग सम्बन्धित निकायबीच सहकार्य र समन्वय बढाउन सञ्चारमाध्यमले सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्वका चुनौती, प्रभावित समुदायका समस्या, संरक्षणका प्रयास तथा सञ्चारमाध्यमले निर्वाह गर्नुपर्ने भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले मानव र वन्यजन्तुबीचको सहअस्तित्वलाई बलियो बनाउन जिम्मेवार पत्रकारिता, प्रभावकारी सूचना प्रवाह र समुदायमा आधारित संरक्षण अभियानलाई सशक्त बनाउनुपर्ने निष्कर्ष निकालेका थिए।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button