• विजय अधिकारी (संवाददाता) लमजुङ, २८ जेठ २०८३ बिहीबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङको प्रथम जिल्ला अधिवेशनमा सभापतिको प्रतिस्पर्धा अन्तिम चरणमा पुगेका बेला उम्मेदवारी त्यागेका रास्वपा लमजुङका नेता भोलानाथ शर्माले आफूले हार मानेर नभई सङ्गठनलाई जिताउन एकताको लागि त्याग गरेको बताएका छन् ।

दोस्रो चरणको मतदानमा जाने तयारी भइरहेका बेला शर्माले पदका लागि संघर्षभन्दा संगठनको भविष्यलाई प्राथमिकता दिएको घोषणा गर्दै प्रतिस्पर्धाबाट पछि हटेको जनाएका हुन्। उनको निर्णयसँगै सभापतिमा अशोक सापकोटा निर्विरोध निर्वाचित भएका थिए । पहिलो चरणको मतदानमा ४९ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका शर्मा सभापतिको बलियो दाबेदारका रूपमा उभिएका थिए। दोस्रो चरणमा परिणाम आफ्नो पक्षमा जान सक्ने सम्भावना हुँदाहुँदै पनि आफूले एकताकालागि चुनावी मैदान छाडेको उल्लेख गरे । उनले सार्वजनिक गरेको सन्देशमा आफूले हार स्वीकार नगरेको स्पष्ट पार्दै संगठनलाई विभाजन र गुटबन्दीबाट जोगाउन सहमतिको बाटो रोजेको बताए । “सहमति मेरो कमजोरी होइन, संगठनप्रतिको जिम्मेवारी र माया हो । व्यक्तिगत आकांक्षाभन्दा सामूहिक हित ठूलो हो ।’ उनले भनेको छन् । । शर्माले पदले मात्र नेतृत्व प्रमाणित नगर्ने उल्लेख गर्दै त्याग, धैर्यता, सहकार्य र संगठनप्रतिको समर्पणले नेतृत्वको उचाइ निर्धारण गर्ने बताएका छन्। “म पदभन्दा संगठनलाई ठूलो ठान्छु, जित वा हारभन्दा साथीहरूको मन जित्नु महत्वपूर्ण मान्छु,” उनले भनेका छन्। उनले आफू रास्वपाको स्थापनाकालदेखि पार्टीसँगै रहेको स्मरण गराउँदै अहिले पनि र भविष्यमा पनि संगठनकै पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार सहमति रोज्नु बाध्यता नभई परिपक्व राजनीतिक निर्णय हो।
अधिवेशनको परिणामभन्दा शर्माको त्याग र सन्देश अहिले बढी चर्चामा छ। “मैले जित्ने होइन, सबैलाई जिताउने बाटो रोजें,” भन्ने उनको भनाइले पार्टीभित्रको शक्ति संघर्षलाई एकताको दिशामा मोड्ने प्रयास गरेको देखिन्छ। “इतिहासले जित्नेहरूलाई मात्र होइन, जोड्नेहरूलाई पनि सम्झिनेछ,” भन्ने सन्देशमार्फत शर्माले व्यक्तिगत पदभन्दा संगठनको दीर्घकालीन हितलाई प्राथमिकता दिएको संकेत दिएका छन्। सभापतिको दौडबाट पछि हट्ने उनको निर्णयलाई रास्वपा लमजुङभित्र राजनीतिक परिपक्वता, संयमता र संगठनप्रतिको निष्ठाको उदाहरणका रूपमा हेरिएको छ।




















