प्रहार समाचार । तनहुँ, २७ जेठ २०८३ बुधबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेस्थित क्याङ्दी खोलामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको एक स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ। उत्खननमा संलग्न स्काभेटरलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि शुक्लागण्डकी नगरपालिकाको कार्यालय, दुलेगौंडामा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रहरी टोलीले नियमित अनुगमनका क्रममा आज क्याङ्दी खोला किनारमा अवैध उत्खनन भइरहेको फेला पारेपछि स्काभेटर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको सवारी साधनलाई स्थानीय तहमार्फत कानुनी प्रक्रिया अघि बढाइएको उनले बताए। नगरपालिकाले घटनाको छानबिन तथा मूल्याङ्कनपछि सम्बन्धित पक्षलाई ४० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जरिवाना रकम असुल गरी स्काभेटर छाडिएको प्रहरीको भनाइ छ।
सूचना अधिकारी घिमिरेले नदी तथा खोलाबाट हुने अवैध उत्खनन, चोरी निकासी र प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि प्रहरीको निगरानी तथा अनुगमन अभियान निरन्तर जारी रहेको बताए। उनले यस्ता गतिविधिमा संलग्न नहुन तथा प्राकृतिक स्रोत–साधनको संरक्षणमा सहयोग गर्न सर्वसाधारण तथा सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।




















