हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

तनहुँको जेष्ठ नागरिक आश्रममा निःशुल्क स्वास्थ्य शिविर : १०२ जनाले पाए स्वास्थ्य परीक्षण सेवा

प्रहार समाचार । तनहुँ, ३० जेठ २०८३ शनिबार । भजन सङ्कीर्तन समूहद्वारा सञ्चालित व्यास नगरपालिका–५ चापाघाटस्थित जेष्ठ नागरिक दिवाकालीन आश्रममा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जेष्ठ नागरिक तथा स्थानीय समुदायलाई लक्षित गरी आयोजित शिविरमा उच्च रक्तचाप, मधुमेह, नसर्ने रोग (एनसीडी) परीक्षण, VIA स्क्रिनिङ तथा रजोनिवृत्तिसम्बन्धी स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो।

 

कार्यक्रममा बोल्दै व्यास नगरपालिका–५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘हिमाल’ ले जेष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र सुरक्षालाई समाजको साझा दायित्वका रूपमा लिनुपर्ने उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य सचेतनालाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिए। उनले समुदायमा बढ्दो नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे।

त्यसैगरी, प्रादेशिक अस्पताल दमौलीका अध्यक्ष कमला मोहन वाग्लेले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै जेष्ठ नागरिकहरूलाई सहज, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल निरन्तर प्रतिबद्ध रहेको बताए। उनले स्वास्थ्य सचेतनासँगै समयमै रोग पहिचान गर्न सकिए धेरै जटिल समस्याबाट बच्न सकिनेमा जोड दिए। जेष्ठ नागरिक दिवाकालीन आश्रमकी अध्यक्ष आइतीमाया थापाले आश्रममा आश्रित तथा समुदायका जेष्ठ नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमले उनीहरूको आत्मविश्वास बढाएको उल्लेख गर्दै यस्ता सेवामूलक गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको बताइन्। उनले जेष्ठ नागरिकहरूको अनुभव, ज्ञान र योगदानलाई सम्मान गर्दै उनीहरूको स्वास्थ्य संरक्षणमा सबै पक्ष संवेदनशील बन्नुपर्नेमा जोड दिइन्।

शिविरमा प्रादेशिक अस्पताल दमौलीका डा. रविन पण्डित को नेतृत्वमा १२ जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो। शिविरमा ७९ जना महिला र २३ जना पुरुष गरी कुल १०२ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रादेशिक अस्पताल दमौलीका सूचना अधिकारी दिनेश पण्डलले प्रहार समाचारलाई जानकारी दिए। समुदायस्तरमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ आयोजित शिविरले जेष्ठ नागरिकहरूमा स्वास्थ्यप्रति जागरण फैलाउनुका साथै समयमै रोग पहिचान र उपचारमा सहयोग पुगेको सहभागीहरूले बताएका छन्। कार्यक्रमको सहजीकरण आश्रमकी सचिव प्रतिमा श्रेष्ठ ले गरेकी थिइन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button