प्रहार समाचार । तनहुँ, ३० जेठ २०८३ शनिबार । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीका महिलाहरू सीप, उत्पादन र उद्यमशीलताको माध्यमबाट आत्मनिर्भरताको बाटोतर्फ लागेका छन्। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालन गरिएको सीपमूलक तालिमले स्थानीय महिलाहरूमा स्वरोजगार र आयआर्जनको नयाँ सम्भावना सिर्जना गरेको छ।

म्याग्दे गाउँपालिकाको आयोजना तथा वडा नम्बर ४ को सहजीकरणमा सञ्चालित उद्यम विकास तालिममा ३५ जना महिला उद्यमी सहभागी छन्। महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा धूप, बत्ती तथा विभिन्न प्रकारका भेज र ननभेज अचार उत्पादन सम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको छ। तालिममा नेपाली कागजबाट पूजाआजामा प्रयोग हुने सुगन्धित धूप, विभिन्न प्रकारका बत्ती तथा हस्तकलाजन्य सामग्री उत्पादन गर्ने विधि सिकाइँदै आएको छ। साथै करेला, आँप, कागती, खुर्सानीलगायतका भेज अचार तथा कुखुराको मासु, बफ र बँदेलबाट तयार गरिने ननभेज अचार बनाउने प्रविधिसमेत सिकाइएको छ।

सहभागी महिलाहरूले उत्पादन प्रक्रिया, प्याकेजिङ, गुणस्तर व्यवस्थापन र बजारको मागअनुसार उत्पादन गर्ने सीपसमेत हासिल गरिरहेका छन्। म्याग्दे गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख तथा मेडपा कार्यक्रमका फोकल पर्सन प्रदीप न्यौपानेका अनुसार तालिमको मुख्य उद्देश्य महिलाहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी स्थायी आम्दानीको स्रोत बनाउन सकुन् भन्ने हो। उनले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादन तथा उद्यम विकासको वातावरण तयार हुँदै गएको जनाए ।
तालिमका प्रमुख प्रशिक्षक पवित्रा लामीछानेले महिलाहरूको सिकाइप्रतिको उत्साह उल्लेखनीय रहेको बताउँदै तालिमपश्चात उनीहरू सफल उद्यमीका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिन् । लामीछाने सहभागीहरूमा सिर्जनशीलता, नवप्रवर्तन र व्यवसायिक सोचको विकास भइरहेको बताउँछिन् । सहभागी सरस्वती श्रेष्ठले तालिमले आफूहरूलाई आत्मनिर्भर बन्ने नयाँ अवसर प्रदान गरेको उल्लेख गरिन् । उनले यसअघि झोल साबुन उत्पादन गर्दै आएका महिलाहरू अब धूप, बत्ती तथा विभिन्न प्रकारका अचार उत्पादन गरी बजारमा बिक्री गर्ने तयारीमा रहेको जानकारी दिइन् । छ

वडा नम्बर ४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठले स्थानीय महिलाहरूको आवश्यकता र मागलाई ध्यानमा राखेर गाउँपालिकासँगको सहकार्यमा तालिम सञ्चालन गरिएको उल्लेख गरे । अधिकांश सहभागी महिलाहरू विभिन्न समूह तथा साना व्यवसायमा आबद्ध रहेकाले तालिमबाट प्राप्त ज्ञान र सीप तत्काल व्यवहारमा उतार्न सक्ने अवस्था रहेको उनको भनाइ छ । तालिमको महत्वपूर्ण पक्ष बजारीकरणलाई पनि प्राथमिकतामा राखिएको छ। पोखरास्थित साइनो किचन कर्नरसँगको सहकार्यमा आवश्यक कच्चा पदार्थ उपलब्ध गराउने तथा उत्पादन भएका सामग्रीको बजारीकरणका लागि समन्वय प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशिक्षक पवित्रा लामीछाने र सहायक प्रशिक्षक राममाया श्रेष्ठको प्रशिक्षणमा सञ्चालन भइरहेको उक्त तालिमले स्थानीय महिलाहरूलाई घरायसी जिम्मेवारीमा मात्र सीमित नराखी आर्थिक र सामाजिक रूपमा सशक्त बनाउने लक्ष्य लिएको छ। सीप विकास, उत्पादन र बजार व्यवस्थापनलाई एकीकृत रूपमा जोडिएको यस कार्यक्रमले म्याग्देमा महिला उद्यमशीलताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।






















