प्रहार समाचार । तनहुँ, २९ जेठ २०८३ शुक्रबार । मनसुनजन्य विपद्को जोखिम बढ्दै गइरहेका बेला तनहुँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त सहभागितामा बृहत् विपद् उद्धार तथा राहत व्यवस्थापन सम्बन्धी प्रदर्शनात्मक अभ्यास (डेमोस्ट्रेशन) कार्यक्रम आज सम्पन्न गरिएको छ। गण्डकी प्रदेश सरकारको आह्वानमा जिल्ला सुरक्षा समितिको आयोजनामा शुक्रबार व्यास नगरपालिका–५ पाटनस्थित मादी नदीमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सवारी दुर्घटना, बाढी, पहिरो तथा खोँचमा खसेका व्यक्तिको उद्धार, प्राथमिक उपचार, राहत वितरण तथा पुनःस्थापना सम्बन्धी अभ्यास प्रदर्शन गरिएको थियो। त्यस अबसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका उद्धार टोलीले विपद्का विभिन्न काल्पनिक अवस्थाको सिर्जना गरी तत्काल उद्धार तथा राहत व्यवस्थापन कसरी गरिन्छ भन्ने विषयमा प्रत्यक्ष प्रदर्शन गरेका थिए। अभ्यासका क्रममा नदीमा फसेका व्यक्तिको उद्धार, दुर्घटनाग्रस्त सवारीबाट घाइतेको सुरक्षित स्थानान्तरण, डोरीको सहायताले खोँचबाट उद्धार तथा विपद्पछिको राहत व्यवस्थापनका गतिविधि प्रदर्शन गरिएको थियो।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले विपद् व्यवस्थापन केवल सुरक्षा निकायको जिम्मेवारी नभई सबै तह र समुदायको साझा दायित्व भएको उल्लेख गर्दै पूर्वतयारी, समन्वय र जनचेतनालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले विपद् आउनुअघि गरिने अभ्यास, तालिम र सचेतनाका कार्यक्रमले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीय तहले पनि विपद् प्रतिकार्य क्षमताको विकासलाई प्राथमिकतामा राखेर आवश्यक स्रोत र साधनको व्यवस्थापन गरिरहेको उनको भनाइ थियो।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले विपद्को समयमा प्रभावकारी उद्धार तथा राहत व्यवस्थापनका लागि सबै निकायबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै सुरक्षा निकाय, स्थानीय तह र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले मनसुनजन्य विपद्को जोखिम बढिरहेका बेला यस्ता अभ्यासले उद्धारकर्ताको दक्षता अभिवृद्धि गर्नुका साथै आपत्कालीन अवस्थामा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने बताए।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले संयुक्त अभ्यासले विपद् प्रतिकार्य क्षमतामा थप मजबुती ल्याउने विश्वास व्यक्त गरेका थिए।मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र विभिन्न प्राकृतिक प्रकोपको जोखिम बढिरहेको अवस्थामा आयोजित उक्त संयुक्त अभ्यासलाई तनहुँ जिल्लाको विपद् तयारी तथा प्रतिकार्य क्षमताको परीक्षण र सुदृढीकरणका रूपमा हेरिएको छ।






















