• विजय अधिकारी ( संवाददाता ) लमजुङ, ३० जेठ २०८३ शनिबार ।डिजिटल प्रविधिको तीव्र विस्तारसँगै अनलाइन कारोबारप्रति नागरिकको पहुँच र विश्वास बढाउने उद्देश्यले जिल्ला हुलाक कार्यालय लमजुङले बेँसीसहरमा ई–कमर्स सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। हुलाक सेवा विभागको कार्यक्रम अन्तर्गत जिल्ला हुलाक कार्यालय लमजुङको समन्वय तथा सहजीकरणमा हिंजो आयोजित कार्यक्रममा ई–कमर्सको बढ्दो प्रयोग, डिजिटल कारोबारका अवसर तथा हुलाक सेवाको आधुनिक प्रयोगबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।

कार्यक्रममार्फत अनलाइन किनबेचको विस्तारसँगै हुलाक सेवाको भूमिकालाई थप प्रभावकारी बनाउने तथा सर्वसाधारणलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्ने प्रयास गरिएको जनाइएको छ। जिल्ला हुलाक कार्यालय लमजुङका प्रमुख श्यामविक्रम न्यौपानेले पछिल्लो समय ई–कमर्सको दायरा तीव्र गतिमा विस्तार भइरहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रका व्यवसायी तथा सेवाग्राहीलाई समेत डिजिटल कारोबारमा आबद्ध गराउनु आवश्यक रहेको बताए।

उनका अनुसार कार्यक्रमले हुलाक सेवामार्फत वस्तु तथा सामग्रीको सुरक्षित ढुवानी, वितरण प्रणाली तथा अनलाइन कारोबारमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत जानकारी प्रदान गरेको थियो।

कार्यक्रममा स्थानीय उत्पादनलाई डिजिटल प्रविधिको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकिने सम्भावना, हुलाक सेवाको प्रभावकारी उपयोग तथा आधुनिक सेवाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको थियो। सहभागीहरूले ई–कमर्सको विस्तारसँगै स्थानीय उद्यम, व्यापार तथा सेवाक्षेत्रलाई नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरकारी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। हुलाक सेवाको आधुनिकीकरण र डिजिटल अर्थतन्त्रमा नागरिकको सहभागिता बढाउने उद्देश्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जिल्ला हुलाक कार्यालयले जनाएको छ।






















