प्रहार समाचार । तनहुँ, १४ वैशाख २०८३ सोमबार । राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो गृह जिल्ला तनहुँ आउने भएका छन् । आदिकवि भानुभक्त आचार्य को जन्मस्थल चुँदी रम्घामा निर्माण हुन लागेको ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्न राष्ट्रपति पौडेल तनहुँ आउने कार्यक्रम तय भएको हो ।

नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित अघि सारिएको यो आयोजनालाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विकास गरिँदैछ ।भानु नगरपालिका–४ स्थित रम्घामा बिहान ११ बजे विशेष समारोहका बीच राष्ट्रपति पौडेलबाट उद्यानको शिलान्यास गरिनेछ । यस्तो बन्ने छ उद्यान :

राष्ट्रपति स्वयंको परिकल्पना र पहलमा अघि बढेको यो योजना लामो समयदेखि चर्चा भए पनि विविध कारणले कार्यान्वयनमा आउन सकेको थिएन । यसपटक भने सरकारी प्राथमिकतामा परेपछि परियोजनाले औपचारिक रूपमा निर्माणको सुरुआत गर्न लागेको हो । यस्तो बन्ने छ उद्यान :

सहरी विकास मन्त्रालयले समेत कार्यक्रममा सरोकारवाला सबै निकायलाई सहभागी हुन आग्रह गरेको छ ।सरकारले प्रारम्भिक चरणका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गुरुयोजनाअनुसार पहिलो चरणमा आधुनिक सुविधासम्पन्न ‘भानु भवन’ निर्माण गरिनेछ । त्यसपछि क्रमशः सातै प्रदेशका सांस्कृतिक तथा धार्मिक सम्पदाका नमूना संरचना निर्माण गरिने र नेपाली साहित्यका विशिष्ट व्यक्तित्वहरूको सालिक स्थापना गरिने योजना रहेको छ । यस्तो बन्ने छ उद्यान :

यसले रम्घालाई सांस्कृतिक, शैक्षिक र पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य बनाउने अपेक्षा गरिएको छ ।स्थानीय तहका जनप्रतिनिधिहरूले उद्यानलाई केवल भौतिक संरचनामा सीमित नराखी विश्वभर छरिएका नेपाली भाषीहरूलाई जोड्ने सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको बताएका छन् । नगर प्रमुख आनन्दराज त्रिपाठीले यो परियोजना नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका लागि कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । उनका अनुसार उद्यानले भविष्यमा अध्ययन, अनुसन्धान र साहित्यिक गतिविधिको प्रमुख केन्द्रका रूपमा भूमिका खेल्नेछ । यस्तो बन्दैछ उद्यान :

राष्ट्रपतिको आगमनलाई ध्यानमा राख्दै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन आवश्यक सबै तयारी पूरा भएको तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । उद्यानको शिलान्याससँगै भानु जन्मभूमिको ऐतिहासिक र सांस्कृतिक महत्व थप उचाइमा पुग्ने विश्वास गरिएको छ ।

























