हेडलाईनसमाचारभानुगण्डकी

डिजिटल प्रविधिमा उकासिँदै पेन्सन सेवा : तनहुँमा इ–पेन्सन कार्यान्वयन सुरु

प्रहार समाचार । तनहुँ, १४ बैशाख २०८३ सोमबार । सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत इ–पेन्सन सेवा तनहुँ जिल्लामा औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। सङ्घीय सरकारको अर्थ मन्त्रालयद्वारा सुरु गरिएको यस सेवाले निवृत्त कर्मचारीलाई अब पेन्सनसम्बन्धी सम्पूर्ण प्रक्रिया सहज, छिटो र झन्झटमुक्त रूपमा उपलब्ध गराउने लक्ष्य राखेको छ। जिल्लामा सेवा सुरु भएसँगै भानु नगरपालिकाबाट अवकाशप्राप्त शिक्षा अधिकारी ध्रुवराज पौडेल पहिलो सेवाग्राहीका रूपमा दर्ज भएका छन्।

अधिकारपत्र ग्रहण गर्दै पौडेलले डिजिटल प्रणालीमार्फत सेवा लिन पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार अब कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत पेन्सन अधिकारपत्रसँगै सञ्चित बिदा रकम र उपचार खर्चसमेत एकीकृत रूपमा प्राप्त गर्न सकिने भएको छ, जसले सेवाग्राहीको समय, श्रम र अतिरिक्त खर्च बचत गर्नेछ।

कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका प्रमुख अशोकराज खनालले इ–पेन्सन सेवाको मुख्य उद्देश्य सेवा प्रवाहलाई पारदर्शी, छरितो र सेवाग्राहीमैत्री बनाउनु रहेको बताए। उनले डिजिटल माध्यमको प्रयोगले सेवाग्राहीले अनावश्यक झन्झटबाट मुक्ति पाउने र सुशासन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। जिल्लामा सुरु भएको यो सेवा अब क्रमशः अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button