प्रहार समाचार । काठमाडौं, १७ वैशाख २०८३ बिहिबार। अखिल नेपाल सुकुमबासी संघले सरकारविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गर्ने तयारी गरेको छ । संघको नेतृत्वमा देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिन लागेका हुन् । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

संघका अध्यक्ष अमर परियारले सरकारले नागरिकको संवैधानिक हकमाथि हस्तक्षेप गर्दै राज्य आतंक मच्चाएको आरोप लगाए । उनले देशभरका लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि डोजर चलाएर अमानवीय ढंगले उठिबास लगाइएको भन्दै त्यसविरुद्ध चरणबद्ध आन्दोलन सुरु गर्न लागिएको बताए । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्देशनमा सुरक्षाकर्मीले हालै काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, मनोहरालगायत नदी किनार क्षेत्रका सुकुम्बासी बस्ती हटाउन डोजर चलाएका थिए ।






















