हेडलाईनसमाचारभानुगण्डकीसाहित्य

राष्ट्रपति पौडेलद्वारा तनहुँको चुँदी रम्घामा निर्माण हुने भानु साहित्य उद्यानको शिलान्यास

प्रहार समाचार । तनहुँ, १४ बैशाख २०८३ सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदी रम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको आज शिलान्यास गरेका छन्। आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घा डाँडामा निर्माण हुन लागेको उद्यानको राष्ट्रपति पौडेलले विशेष समारोहका बिच शिलान्यास गरेका हुन् । तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

राष्ट्रिय स्तरको साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सहित भानु नगरपालिकाले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार उद्यानलाई ‘सप्तधाम’ अवधारणामा विकास गरिनेछ। यस अन्तर्गत साहित्य, संस्कृति, पर्यटन र अनुसन्धानलाई समेट्ने गरी विभिन्न संरचना निर्माण गर्ने योजना अघि बढाइएको छ। परियोजनाको पूर्ण कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ।

नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार चालु आर्थिक वर्षमै संघीय शहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ। सो बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्म मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट अग्लो भानुभक्तको विशाल प्रतिमा निर्माण गरिने योजना रहेको छ।


हालसम्म करिब ४ सय रोपनी जग्गा व्यवस्थापन भइसकेको नगरपालिकाले जनाएको छ। गुरुयोजनाअनुसार उद्यानभित्र भानुभक्तको सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, वनस्पति उद्यान, प्राकृतिक विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र तथा साहित्यिक पदमार्ग निर्माण गरिनेछ।


स्थानीय तहका अनुसार लामो समयदेखि ओझेलमा परेको आदिकवि भानुभक्तको जन्मथलोको संरक्षण तथा प्रवर्द्धन गर्दै यसलाई साहित्यिक पर्यटनको प्रमुख गन्तव्य बनाउने उद्देश्य राखिएको छ। उद्यान निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली भाषा र साहित्यको पहिचान अझ सुदृढ हुने अपेक्षा गरिएको छ।


उद्यान निर्माणका लागि हालसम्म करिब एक करोड ८० लाख रुपैयाँ खर्च भइसकेको छ। पछिल्ला दुई आर्थिक वर्षमा गरिएको यो लगानीले परियोजनाको प्रारम्भिक काम अघि बढाउन सहयोग पुगेको जनाइएको छ। आगामी वर्षहरूमा थप बजेट व्यवस्थापन गरी निर्माण कार्यलाई तीव्रता दिने तयारी गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button