हेडलाईनसमाचारभानुगण्डकी

‘चुँदी रम्घालाई साहित्यिक, शैक्षिक तथा पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउनु पर्छ’ – राष्ट्रपति पौडेल

प्रहार समाचार । तनहुँ, १४ बैशाख २०८३ सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको चुँदी रम्घालाई साहित्यिक, शैक्षिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज भानु नगरपालिका वडा नम्बर ४ चुँदी रम्घामा ‘साहित्य साहित्य उद्यान’को शिलान्यास गर्दै उनले साहित्य, संस्कृति र पर्यटनलाई एकीकृत रूपमा अघि बढाउँदै यस क्षेत्रलाई राष्ट्रिय पहिचानको केन्द्रका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका हुन् ।

“चुँदी रम्घालाई केवल ऐतिहासिक स्थलका रूपमा मात्र नभई जीवित सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नुपर्छ,” राष्ट्रपति पौडेलले भने, “यहाँ साहित्यिक कार्यक्रम आयोजना गर्ने, विद्यार्थीको शैक्षिक भ्रमणलाई प्रोत्साहन गर्ने र पर्यटक आकर्षित गर्ने पूर्वाधार विकास गर्नुपर्छ ।” उनले पदमार्ग निर्माण तथा यस क्षेत्रलाई रामायण र अन्य सांस्कृतिक केन्द्रसँग जोड्ने योजनालाई पनि प्राथमिकतामा राख्न आग्रह गरे ।राष्ट्रपति पौडेलले स्रष्टाहरू राष्ट्रको पहिचान र सम्पत्ति भएकाले उनीहरूको योगदानको सम्मान गर्दै भाषा र साहित्यको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । “भानुभक्तको जन्मभूमिलाई नेपाली भाषा, साहित्य र संस्कृतिको त्रिवेणीका रूपमा विकास गर्नु नै सच्चा श्रद्धाञ्जली हो,” उनले उल्लेख गरे ।

साथै, उनले चुँदी रम्घामा स्वदेश तथा विदेशका साहित्यकारलाई आमन्त्रण गरी नियमित साहित्यिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।उनले संघीय र प्रदेश सरकारलाई पूर्वाधार विकासतर्फ ध्यान दिन आग्रह गर्दै पहुँच मार्गका रूपमा रहेको कच्ची सडक स्तरोन्नति र खानेपानीको स्थायी व्यवस्थापन तत्काल गर्नुपर्ने बताए । स्थानीय समुदायलाई परम्परागत संस्कृति जोगाउँदै योजनामा सक्रिय सहभागिता जनाउन उनले आह्वान गरे ।राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै संस्कृत भाषामा रहेको रामायणलाई नेपालीमा रूपान्तरण गरेर जनसाधारणसँग जोड्ने काम ऐतिहासिक रहेको बताए ।

“भानुभक्तका कृतिले नेपाली भाषालाई लोकप्रिय बनाउँदै राष्ट्रिय एकताको भावना बलियो बनाएको छ,” उनले भने, “उनको प्रभाव नेपालभित्र मात्र सीमित नभई विश्वभर फैलिएको नेपाली समुदायसम्म पुगेको छ ।”यसैबीच, चुँदी रम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानले भानुभक्तको जीवनी, व्यक्तित्व र कृतित्वलाई मूर्त रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ । योजनाअनुसार भानुभक्तको विशाल प्रतिमा, रामायण मन्दिर, साहित्यग्राम, प्रज्ञाभवन, वनस्पति उद्यान र मनोरञ्जन क्षेत्र निर्माण गरिनेछ ।उद्यानको अर्को विशेष आकर्षणका रूपमा ‘सप्तधाम’ अवधारणा अघि सारिएको छ, जसअन्तर्गत सातै प्रदेशका प्रमुख धार्मिक तथा सांस्कृतिक धामहरूको लघु संरचना निर्माण गरिनेछ ।

यसले नेपालको विविध सांस्कृतिक स्वरूपलाई एउटै स्थानमा प्रस्तुत गर्दै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।भानु साहित्य उद्यानको अवधारणालाई साकार पार्न विभिन्न चरणमा पहल हुँदै आएको र हाल शहरी विकास मन्त्रालयमार्फत निर्माण प्रक्रिया अघि बढिरहेको जनाइएको छ । यस आयोजनालाई पूर्णता दिन राज्य, स्थानीय तह र सरोकारवालाबीच सहकार्य आवश्यक रहने बताइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button