किशोर खनाल (प्रहार समाचार) चितवन , १४ बैशाख २०८३ सोमबार । चितवनको भरतपुर महानगरपालिका–७ मा स्थानीय अग्रसरतामा ‘नेपाल आविष्कार केन्द्र’ स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको छ । विभिन्न क्षेत्रका २२ जना संस्थापक सदस्यको सक्रियतामा अघि सारिएको यस पहलले सरकारी तहभन्दा बाहिरबाटै अनुसन्धान र नवप्रवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु भएको देखिएको छ ।

केन्द्रको परिकल्पना पूर्वमन्त्री विजय सुवेदीले अघि सारेका हुन् । उनका अनुसार केही इन्जिनियरहरूसँगको अनौपचारिक छलफलबाट सुरु भएको विचार अहिले बिस्तारै संगठित बन्दै गएको छ । हालसम्म २२ जना संलग्न भइसकेका र संस्थापक सदस्य संख्या ५१ पुर्याउने लक्ष्य राखिएको छ । भरतपुर–७ मा करिब २२ कठ्ठा जग्गा लिजमा लिएर भौतिक पूर्वाधार निर्माणको तयारीसमेत सुरु गरिएको छ ।
केन्द्रलाई कम्पनी ऐनअन्तर्गत दर्ता गरी नाफारहित संस्थाका रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ । यसको आम्दानी पुनः अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमै लगानी गरिने जनाइएको छ । संस्थापकहरूका अनुसार यो केन्द्र कुनै राजनीतिक, जातीय वा निजी स्वार्थमा आधारित नभई सबैको साझा प्लेटफर्मका रूपमा विकास गरिनेछ ।
आविष्कार केन्द्रको मुख्य लक्ष्य नेपाली जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्याको समाधान खोज्नु रहेको बताइएको छ । इन्जिनियर विशाल सिग्देलले प्रस्तुत गरेको गुरूयोजनाअनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा ग्रामीण समुदायको जीवन सहज बनाउने प्रविधि विकासलाई प्राथमिकता दिइनेछ । साथै, केन्द्रलाई दीर्घकालीन रूपमा राष्ट्रिय स्तरको रिसर्च हबका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
यसै सन्दर्भमा इन्जिनियर सुनिल पराजुली नेतृत्वको टोलीले निर्माण गरेको इलेक्ट्रिक ट्राइसाइकल अपाङ्गता भएकी एक सेवाग्राहीलाई निःशुल्क हस्तान्तरण गरिएको उदाहरण प्रस्तुत गरिएको छ । यस्ता प्रविधिमैत्री उपकरणमार्फत सामाजिक समावेशीकरणलाई टेवा पुर्याउने योजना केन्द्रको प्राथमिकतामा रहेको देखिन्छ ।
केन्द्रका अर्का परिकल्पनाकार महेन्द्र पौडेलका अनुसार तीनै तहका सरकारसँग सहकार्य गर्दै विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क उपकरण उपलब्ध गराउने, स्मार्ट औजार विकास गर्ने र पर्यटन प्रविधिसम्म विस्तार गर्ने लक्ष्य तय गरिएको छ । संस्थागत संरचनाअन्तर्गत साधारण सभा, कार्यसमिति, सल्लाहकार समिति र कार्यकारी निर्देशकमार्फत लोकतान्त्रिक ढंगले सञ्चालन गरिनेछ ।
शैक्षिक क्षेत्रसँग समेत सहकार्य गर्दै एआई र रोबोटिक्ससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ । प्राध्यापक मनोज विष्टका अनुसार विद्यालय र क्याम्पसस्तरमै प्रविधिमैत्री शिक्षा विस्तार गर्दै दीर्घकालीन रूपमा दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउने लक्ष्य लिइएको छ ।
छलफलमा सहभागी बुद्धिजीवी तथा अर्थविद्हरूले अनुसन्धान र नवप्रवर्तनलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन् । समग्रमा, स्थानीय स्तरबाट सुरु भएको यो पहलले सही व्यवस्थापन र सहकार्य पाएमा भरतपुरलाई प्रविधि र अनुसन्धानको नयाँ केन्द्रका रूपमा स्थापित गर्न सक्ने अपेक्षा गरिएको छ । क चितवन पोष्ट

























