प्रहार समाचार । तनहुँ, ११ बैशाख २०८३ शुक्रबार । तनहुँको भानु नगरपालिकामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको शिलान्यास राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

यहि बैशाख १४ गते सोमबार आयोजना गर्न लागेको उक्त कार्यक्रममा राष्ट्रपति पौडेलद्वारा शिलान्यास गर्ने कार्यक्रम तय भएपछिको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

भानु नगरपालिका–४ चुँदी रम्घामा निर्माण हुन लागेको उद्यानलाई नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मथलोको पहिचानसँग जोडेर महत्वपूर्ण सांस्कृतिक परियोजनाका रूपमा अघि बढाइएको नगरपालिकाले जनाएको छ। कार्यक्रममा भानु नगरपालिकाभित्रका सबै राजनीतिक दल, वर्तमान तथा निवर्तमान जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सरकारी तथा गैरसरकारी संघ–संस्था, विद्यालय, नागरिक समाज, सञ्चारकर्मी, आमा समूह, गुठी लगायत सम्पूर्ण सरोकारवालालाई सहभागी हुन आह्वान गरिएको छ।
नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार कार्यक्रम वैशाख १४ गते बिहान १० बजे चुँदी रम्घास्थित कार्यक्रमस्थलमै आयोजना गरिनेछ। “भानु साहित्य उद्यानले भानु नगरपालिकाको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास लिएका छौं,” उनले बताए। उद्यान निर्माणपछि चुँदी रम्घा क्षेत्र साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास हुने अपेक्षा गरिएको छ। स्थानीय तहले यस परियोजनालाई दीर्घकालीन सांस्कृतिक पूर्वाधारका रूपमा अघि बढाउँदै साहित्य, इतिहास र पर्यटनलाई जोड्ने रणनीति लिएको छ। राष्ट्रपति सहभागी हुने कार्यक्रम भएकाले सुरक्षा व्यवस्थासमेत कडा पारिने तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए ।

























