प्रहार समाचार । तनहुँ, १२ बैशाख २०८३ शनिबार । तनहुँको व्यास नगरपालिका–१ भादगाउँकी समाजसेवी मंगला देवी श्रेष्ठको ७० वर्षको उमेरमा आज निधन भएको छ।

मुटुसम्बन्धी समस्याका कारण केही समयदेखि नियमित औषधि सेवन गर्दै आएकी श्रेष्ठको स्वास्थ्य हिजो एक्कासि बिग्रिएपछि दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि पोखरा रिफर गरिएकी उनको उपचारकै क्रममा ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।
स्व. श्रेष्ठ भादगाउँ टोल विकास संस्थाका कोषाध्यक्ष एवं भादगाउँ खानेपानी संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठकी आमा हुन्। उनको निधनप्रति व्यास–१ का निवर्तमान वडा अध्यक्ष खरसिंह दरै, विभिन्न राजनीतिक दल तथा स्थानीय संघ–संस्थाले गहिरो समवेदना व्यक्त गरेका छन्। भादगाउँ टोल विकास संस्थाका अध्यक्ष दीपक घिमिरे र भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चिजबहादुर दरैले समवेदना प्रकट गर्दै उनको योगदान स्मरण गरेका छन्।
स्थानीय आमा समूहकी पूर्व अध्यक्षसमेत रहेकी श्रेष्ठ विभिन्न सामाजिक संघ–संस्थामार्फत समाजसेवा र सामाजिक रूपान्तरणमा सक्रिय थिइन्। उनको निधनले भादगाउँ क्षेत्रले एक समर्पित सामाजिक अभियन्ता गुमाएको भन्दै स्थानीयवासीले दुःख व्यक्त गरेका छन्। श्रेष्ठको आजै मादी नदी र बुल्दी खोलाको संगमस्थलमा अन्तिम दाहसंस्कार गरिएको छ।

























