प्रहार समाचार । म्याग्दी, १२ बैशाख २०८३ शनिबार । नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो प्रदेश परिषद म्याग्दीको सदरमुकाम बेनीमा आज सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको परिषदले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक परिवेशसम्मका विविध विषयमा गम्भीर छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ।

‘श्रम शक्ति नै राष्ट्र शक्ति हो” भन्ने मूल नाराका साथ सम्पन्न परिषदको समापन कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका उपसभापति कर्ण बहादुर भण्डारीले पछिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसके पनि नीति, सिद्धान्त र एजेन्डाले जनमत जितेको दाबी गरे। म्याग्दीका उम्मेदवारसमेत रहेका उनले जनतामा देखिएको असन्तुष्टि क्षणिक र कृत्रिम भएको उल्लेख गर्दै सामाजिक सञ्जालका एल्गोरिदममार्फत “पुराना दल असफल” भन्ने भाष्य निर्माण गरिएको बताए।

कार्यक्रममा प्रदेश अध्यक्ष मुरारी शर्माले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) जस्ता निकायले ट्रेड युनियन अधिकारबारे चासो व्यक्त गरिरहँदा सम्बन्धित पक्ष मौन रहनु चिन्ताजनक भएको बताए। उनले ट्रेड युनियनभित्र रहेका कमजोरी सुधार गर्नुपर्ने तर त्यसकै नाममा युनियन खारेज गर्ने सरकारी सोच कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।
परिषदमा सल्लाहकारद्वय माधव बराल र ईश्वरचन्द्र परियारले दलीय ट्रेड युनियनका नाममा समग्र श्रमिक आन्दोलन कमजोर पार्ने प्रयास भए कडा प्रतिवाद गरिने चेतावनी दिए। उनीहरूले विद्यार्थी संघ–संस्था खारेजी तथा ट्रेड युनियन अधिकार सीमित गर्ने कदमहरू लोकतन्त्रका लागि खतरा हुनसक्ने धारणा व्यक्त गरे।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयलाई प्रेसमाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयासका रूपमा व्याख्या गरे। उनले आर्थिक रूपमा स्वतन्त्र मिडियालाई कमजोर बनाउँदै स्वतन्त्र अभिव्यक्ति कुण्ठित गर्ने प्रयास स्वीकार्य नहुने बताए। यस्तै, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद तथा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले ट्रेड युनियनलाई कमजोर बनाउने होइन, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
परिषद बैठकमा उपाध्यक्षहरू लालीमाया शर्मा रेग्मी, बेदप्रसाद अधिकारी र घनश्याम रेग्मीले सरकारले ट्रेड युनियन अधिकारमाथि लगाएको अंकुश तत्काल फिर्ता लिन माग गर्दै श्रमिकमैत्री नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न जिल्लाका ट्रेड युनियन कांग्रेसका अध्यक्षहरूले आ–आफ्नो जिल्लाको अवस्थाबारे धारणा राखेका थिए। लमजुङका तिर्थराज तिवारी, स्याङजाका दुर्गा बहादुर रोका, तनहुँका कृष्ण बहादुर के.सी., बाग्लुङका ईश्वर ठाकुर पौडेल, नवलपुरका गंगाधर सुवेदी, म्याग्दीका कोमलप्रसाद उपाध्याय, गोरखाका शिव थापा र पर्वतका लोकनाथ अधिकारीले श्रमिक समस्या, संगठन विस्तारका चुनौती र अवसरबारे प्रकाश पारे।

ट्रेड युनियन कांग्रेस गण्डकीका सचिव रुद्रप्रसाद तिमिल्सीनाद्वारा सहजीकरण गरिएको कार्यक्रममा केन्द्रीय सदस्य तथा लैंगिक सेल सदस्य हुमा रिजाल, केन्द्रीय प्रचारप्रसार समितिका सदस्य विजयराज भण्डारी, प्रदेश सहसचिव कुशेश्वर गुरुङ, प्रदेश सदस्यहरू शिवराज अधिकारी, गोविन्द अधिकारी, झलकराज पौडेल, पार्षद शान्ता बास्तोला, नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र खत्री, ब्यूटिसियन गण्डकी प्रदेश अध्यक्ष शर्मिला रानाभाट, युवा समिति गण्डकीका अध्यक्ष महेन्द्र गुरुङ तथा कास्कीका अध्यक्ष राजेश बुढालगायतले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रम गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।
परिषदमा सांगठनिक तथा आर्थिक प्रस्तावमाथि विस्तृत छलफल हुनुका साथै विधान संशोधन, राष्ट्रिय परिषदमा लैजाने एजेन्डा, ट्रेड युनियन अधिकारको अवस्था, श्रमिक हकहितको संरक्षण तथा संगठन विस्तारका विषयमा ठोस निर्णय गरिएको सचिव तिमिल्सीनाले जानकारी दिए। उनका अनुसार परिषदले प्रदेशस्तरमा संगठनलाई थप मजबुत बनाउने, जिल्लास्तरसम्म सक्रियता बढाउने र श्रमिकका मुद्दालाई सशक्त रूपमा उठाउने रणनीति तय गरेको छ।
परिषदले श्रमिक अधिकार संरक्षण, संगठन विस्तार र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने साझा प्रतिबद्धतासहित निष्कर्ष निकाल्दै सम्पन्न भएको आयोजकले जनाएको छ।

























