प्रहार समाचार । कपिलवस्तु, १३ वैशाख २०८३ आइतबार । हुलाकी सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–१२ पिपराहवामा सडक किनारमा रोकि राखिएको ट्रकमा तीव्र गतिमा आएको भारतीय नम्बर प्लेटको स्कार्पियो ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

शनिबार राति करिब ९ बजेतिर बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको युपी ३२ सिए ८३४३ नम्बरको स्कार्पियोले लु १ ख ९५४९ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटनापछि गम्भीर घाइते भएका स्कार्पियोका चालक तथा यात्रुहरूलाई तत्काल कपिलवस्तु अस्पताल पुर्याइए पनि उपचारकै क्रममा महराजगंज नगरपालिका–११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धरमनगरका ५५ वर्षीय चिन्नी कुर्मीको ज्यान गएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।
प्रहरी निरीक्षक राजन ढकालका अनुसार रातको समयमा सडकमा अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारी र तीव्र गतिले दुर्घटना निम्त्याएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।
स्थानीयवासीले हुलाकी सडकमा यस्ता घटनाहरू दोहोरिँदै आएको भन्दै सडक सुरक्षामा कडाइ गर्न र अव्यवस्थित पार्किङ नियन्त्रण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

























