प्रहार समाचार । तनहुँ, १३ वैशाख २०८३ आइतबार । उत्कृष्ट टोल घोषणा भएपछि व्यास नगरपालिका–२ मालेबगर टोल विकास संस्थामा एक फरक खालको चहलपहल देखियो। चितवनको रत्ननगर नगरपालिका–१० टाँडीबाट वडा अध्यक्ष कलाधर पौडेल सहितको टोली अध्ययन अवलोकनमा आइपुगेपछि स्थानीय तहबीच सिकाइ र सहकार्यको वातावरण झन् गाढा बनेको हो।

आर्थिक वर्ष २०८२/०८३ मा उपस्थिति, अनुशासन, सरसफाइ र वडा तथा नगरसँगको समन्वयका आधारमा उत्कृष्ट टोलको सम्मान पाएको मालेबगरले आफ्ना अभ्यासहरू प्रस्तुत गर्दै आगन्तुक टोलीसँग अनुभव साटासाट गर्यो। कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दर, वडा अध्यक्ष काशिराम श्रेष्ठ, वडा सदस्य सुरेश वाग्ले लगायत जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा आमा समूहको उल्लेख्य सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा दुवै नगरपालिकाका प्रतिनिधिहरूले बजेट विनियोजनको ढाँचा, वडागत प्राथमिकता, कृषि तथा स्वास्थ्य सेवा विस्तार, शैक्षिक सुधार, फोहरमैला व्यवस्थापन र टोल विकास संस्थाको अधिकार क्षेत्रबारे आ–आफ्ना अभ्यास र चुनौतीहरू खुलस्त राखे। विशेषगरी स्थानीय स्तरमै स्रोत परिचालन र समुदायको सक्रिय सहभागितामार्फत विकासलाई दिगो बनाउने उपायमा जोड दिइयो।

कार्यक्रमले केवल अनुभव आदानप्रदानमै सीमित नरही स्थानीय सरकारहरूबीच सहकार्यको नयाँ ढोका खोलेको सहभागीहरूले बताएका छन्। सफल अभ्यासहरू एकअर्काबाट सिक्दै अघि बढ्ने प्रतिबद्धतासँगै कार्यक्रम समापन भएको थियो।

























