हेडलाईनसमाचारप्रदेश

मन्त्री वादीले गरिन् ‘नगर्ने कामको प्रतिवद्धता’

प्रहार समाचार । काठमाडौं, १५ बैशाख २०८३ मंगलबार । प्राय मन्त्री पदमा पुगेपछि आफूले गर्ने कामको विवरणहरु सार्वजनिक गर्छन् । तर त्यसको ठिक विपरित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पद सम्हालेको करिब पाँच सातापछि आफूले नगर्ने १० कामको सूची सार्वजनिक गरेकीछिन् ।

जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राख्दै उनले सार्वजनिक पदलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम नबनाउने प्रतिवद्धता व्यक्त गरेकी हुन्।मन्त्री वादीले नातागोता, चिनजान वा दबाबका आधारमा जागिर, नियुक्ति तथा सरुवा–बढुवा नमिलाउने स्पष्ट पार्दै शक्तिको दुरुपयोग, भनसुन र गैरकानुनी हस्तक्षेप नगर्ने बताएकी छन्।

अपराधमा संलग्न व्यक्ति—चाहे लागूऔषध, ठगी, जालसाजी, कुटपिट वा तस्करीसँग सम्बन्धित किन नहोस्—को संरक्षण नगर्ने उनको अडान छ। यस्तै, भ्रष्टाचार, घुस तथा कमिसनजस्ता गतिविधिमा शून्य सहनशीलता अपनाउने र यस्ता कार्यविरुद्ध सशक्त रूपमा उभिने उनले जनाएकी छन्।उनले राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सरकारी सेवामा “काम छिटो गराउन छोटो/सजिलो उपाय खोज्ने वा सिफारिसको संस्कृतिलाई अस्वीकार गर्ने र मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा नलिने उल्लेख गरेकी छन्। ‘भोट दिएको’ आधारमा कुनै दबाबमा नपर्ने र सबै नागरिकलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाउँदै उनले विशेषगरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तीकृत समुदायका अधिकार र न्यायका लागि निरन्तर उभिने बताएकी छन्।

मन्त्री वादीले नागरिकका दुःख, आपत् र अप्ठ्यारोमा सम्भव भएसम्म प्रत्यक्ष साथ दिने उल्लेख गर्दै सुशासन केवल सरकारी नीतिबाट मात्र नभई नागरिकको सचेत सहभागिताबाट सम्भव हुने धारणा राखिन्। उनका अनुसार वास्तविक परिवर्तनका लागि सरकार र नागरिकबीचको सहकार्य अपरिहार्य छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button