शिक्षाहेडलाईनसमाचारबागमती

डिजिटल शिक्षामा सरकारको जोड : ‘सिकाइ चौतारी’ एप प्रयोगमा लैजान निर्देशन

•चेतना नहर्की (प्रहार समाचार) काठमाडौं, १५ बैशाख २०८३ मंगलबार । । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले डिजिटल माध्यममार्फत सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘सिकाइ चौतारी’ मोबाइल एप प्रयोगलाई देशभर विस्तार गर्न निर्देशन दिएको छ।

केन्द्रको श्रव्यदृश्य शाखाले ७७ वटै जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै शिक्षक, विद्यार्थी तथा सरोकारवाला सबैलाई एप डाउनलोड गरी प्रयोगमा ल्याउन सहजीकरण गर्न आग्रह गरेको हो।


सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत शिक्षणलाई आधुनिक र व्यवस्थित बनाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको ‘सिकाइ चौतारी’ पोर्टललाई अझ पहुँचयोग्य बनाउन मोबाइल एपको सुरुवात गरिएको केन्द्रले जनाएको छ। विशेषगरी विद्यालय सञ्चालन नभएको अवस्थामा समेत विद्यार्थीको सिकाइ निरन्तरता कायम राख्न एप उपयोगी हुने अपेक्षा गरिएको छ।


गत वैशाख २ गतेदेखि सञ्चालनमा आएको उक्त एप मोबाइल प्लेस्टोरमार्फत सहजै डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। केन्द्रका निर्देशक वासुदेव वस्तीका अनुसार जिल्लास्तरमा प्रभावकारी समन्वय गरी विद्यालयहरूमा यसको प्रयोग सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको हो।


सरकारले पछिल्ला दिनमा डिजिटल शिक्षामा जोड दिँदै विभिन्न अनलाइन प्लेटफर्ममार्फत सिकाइलाई विस्तार गर्ने नीति लिएको छ। ‘सिकाइ चौतारी’ एपको प्रयोगसँगै शिक्षण–सिकाइ प्रक्रियामा प्रविधिको प्रयोग अझ व्यापक हुने विश्वास गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button