प्रहार समाचार । काठमाडौं, १८ वैशाख २०८३ शुक्रबार । विश्व शान्तिका अग्रदूतका रूपमा परिचित सिद्धार्थ गौतम को २५७०औँ जयन्ती आज देशभर श्रद्धा र भव्यताका साथ मनाइँदै छ। वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने बुद्ध जयन्तीका अवसरमा बौद्ध धर्मावलम्बीले पूजा, आराधना तथा प्रवचनमार्फत बुद्धका शिक्षालाई पुनः स्मरण गरेका छन्।

अहिंसा, करुणा र मैत्रीको सन्देश फैलाउँदै बुद्धले देखाएको मार्गलाई आत्मसात् गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्।यस वर्ष पनि लुम्बिनी, स्वयम्भूनाथ र बौद्धनाथ स्तूप लगायत प्रमुख धार्मिक स्थलहरूमा विशेष भीड लागेको छ। ती स्थानहरूमा बिहानैदेखि श्रद्धालुहरूको उपस्थितिमा दीप प्रज्वलन, परिक्रमा तथा धर्मदेशना कार्यक्रम सञ्चालन भइरहेका छन्।
सरकारले समेत बुद्ध जयन्तीको अवसरमा सार्वजनिक बिदा दिँदै राष्ट्रिय स्तरमै पर्व मनाउने वातावरण सिर्जना गरेको छ।इतिहासअनुसार इसापूर्व ५६३ मा लुम्बिनी उद्यान मा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा जन्मिएका सिद्धार्थले मानव जीवनका दुःख देखेपछि २९ वर्षको उमेरमा राजदरबार त्यागेका थिए।
कठोर तपस्या र ध्यानपछि उनले ज्ञान प्राप्त गरी “बुद्ध” उपाधि प्राप्त गरेका थिए। उनका जीवनका तीन महत्वपूर्ण घटना—जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण—सबै वैशाख पूर्णिमामै परेको विशेषता छ।बुद्ध जयन्ती केवल धार्मिक पर्व मात्र नभई मानवताका लागि शान्ति र सहअस्तित्वको सन्देश बोकेको दिनका रूपमा लिइन्छ। आजको दिनले विश्वभर बढ्दो हिंसा र द्वन्द्वका बीच बुद्धका शिक्षाको सान्दर्भिकता झन् गहिरो भएको सन्देश दिएको छ। धार्मिक गुरु तथा विद्वानहरूले पनि बुद्धका उपदेशलाई व्यवहारमा उतार्न सके मात्र समाजमा दिगो शान्ति स्थापना हुने धारणा व्यक्त गरेका छन्।


























