प्रहार समाचार । काठमाडौं, १८ बैशाख २०८३ शुक्रबार । दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको खाना पकाउने ग्यासको मूल्य पुनः वृद्धि भएपछि सर्वसाधारण थप मारमा परेका छन्। नेपाल आयल निगमले नयाँ मूल्यसूची सार्वजनिक गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी ग्यासको मूल्य बढाएको जनाएको छ, जसले घरधुरीको मासिक खर्चमा थप दबाब सिर्जना गर्ने निश्चित भएको छ।

नयाँ दरअनुसार अब पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको छ भने आधा सिलिण्डरको मूल्य १ हजार ८० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि पूरा सिलिण्डर २ हजार १० रुपैयाँ र आधा सिलिण्डर १ हजार ५ रुपैयाँमा पाइँदै आएको थियो, जसका आधारमा हेर्दा दुबैमा उल्लेख्य वृद्धि भएको देखिन्छ।
बारम्बार हुने मूल्यवृद्धिले विशेषगरी न्यून तथा मध्यम आय भएका परिवारलाई असर पार्दै आएको छ। उपभोक्ताहरूले विकल्पको अभावमा बढेको मूल्य तिर्न बाध्य भइरहेका छन् भने बजारमा अन्य वस्तु तथा सेवाको मूल्यमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।


























