विषय प्रवेश :
अन्तराष्ट्रिय पर्व दिवसको शुभअवसर पारेर व्यास प्रज्ञाप्रतिष्ठानका सम्पूर्ण प्राज्ञ सदस्यहरुलाई निम्न स्थानमा भ्रमणबाट व्यास नगरपालिकाले कल्पना गरेको टाकुरा पर्यटन प्रबद्र्धन, पुरातात्विक महत्वका ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक सम्पदा र साहित्यिक महत्व सङ्ग सरोकार राख्ने स्थानहरुको अबलोकन कार्यक्रम राखिएको हो ।

व्यास प्रज्ञा प्रतिष्टानको यस भ्रमणका सन्दर्भमा व्यास प्रज्ञा प्रतिष्ठानका सदस्यहरुबीच परिचय र भावि तयार गरिने रणनैत्तिक योजनाको विषयमा एउटा ठोस सुझाव प्राप्त गर्न सक्ने विश्वास गरिएको छ । भ्रमणका लागि छनौट भएका निम्न स्थानहरुको के कति महत्व छ सम्वन्धित स्थानहरुको सामन्य जानकार गराउन र प्राज्ञ सदस्यहरुको राय सुझाव प्राप्त गर्नका लागि यो विषयको उठान गर्ने जमर्को गरेको मात्र हो ।
व्यास १० डिहीगाउँ र दरैहरुको न्याय चौतारी
दराई जाति दरै हुन की दराई हुन गर्भगृहमै रहेको छ । भनाइ र लेखाइमा पनि अन्तर पर्दै आएका छन् । कोही बस्नेत लेख्छन् कोही बस्न्यात, कोही पौडेल लेख्छन् कोही पौड्याल, कोही पोख्रेल लेख्छन् त कोही पोख्याल लेख्छन् । यस्तै यस्तै पाइन्छन् नेपाली थरहरुमा । दरै र दराइमा पनि त्यही भिन्नता देखिएको मात्र हो । बोलचालको भाषामा दरै भनेर संवोधन गरिएता पनि हाम्रा पुराना सरकारी लिखितहरुमा दराई लेखिएको पाइएकोले यिनीहरु दराई हुन भन्न सक्दछौं । झल्लक हेर्दा दराईहरु मङ्गोलियन अनुहार परेका देखिन्छन् । कालोवर्ण ,छोटो कद, नेप्टोनाक, सानाआँखा, उठेका गालाका हाड, अलिकता दुब्ला पाताला जस्ता देखिने दराइहरुका शारिरिक विशेषताहरु हुन् । हजारौ वर्षदेखि बेसीका कुनाकन्दरा तथा खोंचहरुमा बसोबास गर्ने दराईहरुमा मूल रुपमा सातथर रहेको पाउँदछौं । (श्रोत —चितवन दर्पण–धर्मराज थापा) । नेपालका विभिन्न स्थानमा दराइ जातिहरुमा राना, बूढाथोकी, गिन्देल, चितृराना, वनपाली, शिवकाशी, खजवार, राई , राजपुत, बूढाथापा, कोकलसाही , सूर्यंवंशी, नरबंशी, साही , सिंह , चन्द्रवंशी श्रेष्ठ, बँशी, जहादरे र झ्यामतोना लगायतका उपथरहरु पनि भेटिएका छन् । (श्रोत— विकीपिडिया) वास्तवमा दराईहरु कलाप्रेमी र सहनशील गुणले भरिएका हुन्छन् । त्यसैले त दराईहरु आफ्ना सामाजिक कुराहरु सभा गरेर हल गर्दछन् । व्यास १० डिहीगाउँमा दराईहरुको भलाकुसारी गर्ने साझा घुमाउने घर र न्याय दिने गद्धीचौतारी बनाइएको थियो । ३२ दराई गाउँका आफ्नै मुखिया र पूर्खाहरु मिलेर दह्रा सिठा गाडेर बनाएको घुमाउने घर र चौतारो व्यास न.प. १०को डिहीगाउँ थियो । बिस्तारै गद्धीचौतारी शब्द अपभ्रंश भइ पछि घर्तीचौतारी बन्न पुगेको हो की भनेर अनुमान गर्न सकिन्छ । हुन त पुर्खाले सिठा गाडेर बनाएको घुमाउने घर अहिले पृथ्वीको गर्भमा बिलाइ सकेको छ । (श्रोत—चितवन दर्पण —धर्मराज थापा)घुमाउने घरको भग्नाबशेष नभेटिए पनि घर्ती चौतारो भने अझै पनि जीवन्त भेटिएको छ । हिंजो–आज पनि दराईहरु आफ्नै पूर्खाहरुले बनाएको घुमाउने घरमा सभा र कचहरी गरी घर्तीचौतारामा जम्मा भइ निर्णय सुनाउँदै आइरहेका छन्् । पहिला पहिला आफ्नै जातिको महामुखियाको निर्देशनमा दराईहरुमा गुठी चल्दथ्यो । तर अहिले गुठ परम्परा लोप हुँदै गएको पाउँदछौं । उनीहरु आफ्ना संस्कृतिका बारेमा बृहत छलफल गर्दथे भन्ने कुरा व्यास १० डिही गाउँका तुलबहादुर दरैले हामी सङ्गको भेटघाटमा बताएका हुन् ।छलफलको निचोडलाई महामुखियाले सबै भाइबृन्दालामा आदेशात्मक आवाजमा सुनाउने गर्दथे । व्यास १ गल्बुबेसी सुना घडेरी भेटिनुले थुमथुमे राजाको पालामा दराईहरुका राजा सुधन्वा ( सुना)को राजधानी गल्बुबेसीको सुनाघडेरी नै थियो की भन्न सकिने बल मिलेको छ । श्रोत—दमौली महात्म्यम् — देब बस्न्यात र विकास खनाल) । यसैलाई उनीहरुले आफ्नो प्राकृतिक स्वभाव एवं पैतृक सम्पति मान्दै आएका छन् । सेनकालीन समय देखि नै दराइहरु किपटिया थिए । त्यही भएर वि.सं. १९४० सम्म तनहुँमा अमाली प्रथा कायम रहेको थियो । तत्कालीन ३२ दरै गाउँका अमाली डिट्ठा महावीर अधिकारी क्षत्री रहेका थिए । उनैले दरै गाउँको तिरोभरो असुली गर्दथे र माल अड्डामा जम्मा गर्दथे ।
पितृघाट , पित्तरघाट हुँदै पत्थरघाट :
गण्डकी प्रदेश तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं ६ मा शेराबजार र शिःसाघाट बजारको बीचमा मादीवेसी एवं व्यास ७ क्यामिन वेशीमा पत्थरघाट भन्ने ठाउँ रहेको छ । व्यासका अध्येता काशिनाथ न्यौपानेले पराशर घाट अपभ्रम्स भई पत्थरघाट हुन पुगेको बताए । यहाँका स्थानिय दरै , बोटे हरुले पितृ बिसर्जन गर्ने स्थानलाई पित्तर तथा पित्रघाट भन्ने गर्दछन् । यहि पित्रघाट बाट यो स्थानको नाम पत्थरघाट बनेको हुन सक्दछ । यसैगरि दरै बोटेको मातृभाषामा ढुङ्गालाई पत्थर भन्ने गरिन्छ। यहाँ रहेको त्यहि ठूलो ढुङ्गाबाट पात्थरघाट बनेको स्थानिय याम बहादुर दरैले बताए ।
यो पात्थरघाट श्याम्घा र क्यामिन गाउँको बेसी भूभाग हो । विकासमा पथमा लम्कदैं गरेको मादीबेसी दमौली बाह्रविसे हुँदै शिःसाघाट जाने मोटर मार्ग बनेको छ । मादी नदी र मदी खोलाले बनाएको बेनीमा पितृघाट (शेषघाट) रहेको छ । यहाँ दिवंगत भएको पितृहरुको अस्तु विर्सजन गर्ने स्थान भएकाले धार्मिक क्षेत्रको हिसावले पनि पात्थरघाट अति महत्वपूर्ण स्थान बन्न पुगेको छ । गण्डकीका अन्य जलाधार क्षेत्रका जनताहरुले मृतक पितृको शेषअङ्ग “अस्तु” काली नदीमा लगेर विर्सजन गर्ने परम्परा रहेको छ । कालीगण्डकी जान टाढापाइ भएको र ऐतिहासिक कालमा अर्को राज्यमा जाँदा सुरक्षाको कुनै प्रत्याभूति नहुँदा पनि मादी जलाधर क्षेत्रका तनहुँ , लमजुङ र कास्कीका नागरिकहरुको लाश जलाई बाँकी रहेको “अस्तु” केही वर्ष अगाडी सम्म यही पितृघाटमा ( संस्कृत शव्दकोषको पितृघाट शब्द अप्रभ्रंश भइ पित्तरघाट हुँदै पत्थरघाट र शेषअङ्ग अस्तु विसर्जन गरिने ठाउँ भएकाले शेषघाट ) मा विर्सजन गर्दथे रे भन्ने जनश्रुति सुन्नमा पाइन्छ । करापुटारका इशानेश्वर महादेव संगको युद्धमा पराजित भइ मृत्युवरण गरेको ताराकासुरको शेष अङ्ग विसर्जन गरिएको स्थान भएकाले पनि यसलाई शेषघाट र माथिको टारलाई शेषटार भन्ने गरिएको हो भन्ने जनश्रुति रहेको छ । ( श्रोत – लोक संस्कृतिको घेरामा लमजुङ — धर्मराज थापा )
क्यामिनकोट:
तात्कालीन मिर्लुङकोट राज्यको पश्चिमतर्फको सुरक्षाकवचको गढीको रुपमा क्यामिनकोट हाल व्यास न.पा.८ कोटथोकमा पर्दछ । पश्चिम तर्फको कलेस्ती दोभान देखि रिस्ती दोभान सम्म फैलिएको क्यामिनकोट गौंडाले सुराकी र मिर्लुङकोटको रक्षाकवचको रुपमा उभिएर रहेको थियो । यहींका गुरुङहरु र दलभञ्ज्याङका थापाहरुले मिर्लुङकोटको सुरक्षाको ढाल बनेर रहेका थिए । यहाँका सैनिकहरुले तनहुँसुरको दरवारको पछाडी रहेको ऐना ढुङ्गा हेरेर तनहुँगे सैनिकहरुको गुप्तचरी गर्दथे भन्ने किंवदन्ती सुन्नमा पाइन्छ । समुन्द्र सतहबाट ७०० मिटरको उचाइमा रहेको यस कोटमा क्यामिन कालिका माइको मन्दिर रहेको छ । क्यामिनकोट कालिकामा यहाँका साविक १ देखि ९ नं. वडा सम्मका बासिन्दाहरुले कालिकामाताको पूजाआजा गर्दै आएका छन् । हरेक वर्षको साउनका र पुसको महिना बाहेक बाँकी अरु महिनाहरुको प्रत्येक अष्टमी अष्टमीमा कालिका माईको नियमित पूजाआजा गदैं आएका छन् । वडा दशैं र चैते दशैंमा समयमा यहाँ विशेष पूजा हुने गर्दछ । साविक क्यामिनका हरेक वडाबाट अनिवार्य पाठीको बलि लिनै पनै परम्परा रहेको छ। यसका अतिरिक्त यहाँ पाठा-पाठी, राँगो,हाँस, परेवा र भेंडाको पञ्चबलि दिने प्रचलन पनि रहेको छ । यहाँको कालिकामाईको मन्दिरमा सेन कालीन हातहतियार अझै पनि देख्न पाइन्छ । कोटकालिकालाई मिर्लुङकोट कालिकाको बहिनी पनि भन्ने गरिन्छ । २८ वटा घरहरु भएको क्यामिन कोटथोक गुरुङहरुको घना बसोबास रहेको सुन्दर बस्ती हो यस कोटबाट उत्तर तर्फका अन्नपूर्ण हिमश्रृङखला, बौद्धहिमाल , तुर्लुङकोट , जिताकोट सहितका लमजुङका पहाड पर्वत , पश्चिमका भूजिकोट, गलेखामकोट मानहुँकोट, तनहुँकोट, दुम्सीकोट मादीनदीले बनाएको मादी उपत्यका, कलेस्ती तथा रिस्तीले बनाएका धनहर खेत, टार तथा पहाडपर्वतहरु र हिउँदको महिनामा मादी , रिस्ती र कलेस्ती खोलाहरुमा बिहान ९ बजे सम्म लाग्ने कुहिरोको श्वेतसागर र बिहानी पखको सूर्योदय र साँझपखको सूर्यास्त समेतको मनोरम दृष्यहरुको अबलोकन गर्न सकिन्छ । यसका साथै क्यामिनकोट नजिकै तारुकामा रहेको बसाहको उत्पति , मिर्लुङकोट र कुन्छाभञ्ज्याङ सम्म पुग्ने क्यासमिरी पर्यटन पदमार्ग, टुटेपानी होमस्टे र बासपानी होमस्टेका बारेमा आबस्यक जानकारी प्राप्न गर्न सकिन्छ ।
आदिकवि भानुभक्त आचर्य, घांसीकुवा भानु घांसी संवाद पार्क :
आदिकवि भानुभक्त आचर्य नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व हुनुहुन्छ । वि.सं. १८७१ साल असार २९ गतेका दिन चुँदी रम्घामा उहाँको जन्म भएको थियो । भानुभक्त आचर्य श्रीकृष्ण आचर्यका नाती र धनञ्जय आर्चका पुत्ररत्न हुनुहुन्छ । भानुभक्त आचार्यको मामाली घर लम्जुङ जिल्लाको भोर्लेटारमा पर्दथ्यो । उहाँ प्रायशः मामा घर जाने र आउने गरि रहनु हुन्थ्यो । मामाली घर जाने आउने क्रममा एक पटक उहाँको रम्घा गाउँ विकास समिति वडा नं. ७ हाल मध्ये नेपाल नगरपालिकाको खड्गे ठाडा चौतारो ( हाल ः भानु घाँसी संवाद चौतारो ) पातलमा बसेर आरम गरीरहेका थिए । सोही बेला भानुभक्त आचर्यको घाँसी खड्गबहादुर मगरसँग भेटघाट हुन पुग्यो । घांसीबाट शिक्षा प्राप्त गरेका भानुभक्तले रामायण, भक्तमाला, बधुशिक्षा र फूटकर कविताहरुको रचना गरेर उहाँले नेपाली साहित्यमा भण्डारण गर्नु भएको हो । तनहुँ जिल्लाकै व्यास नगरपालिकाको वडा नं. ११ पोल्याङ पूर्व बुल्दी खोलाको पारी पृथ्वी राजमार्ग सँगै सटेर घासिकुवा रहेको छ । पृथ्वी राजमार्ग खन्ने बेलामा यो घाँसी कुवा हो भनेर बढी प्रचारप्रसारमा आएको हो । त्यो बेला यो स्थान कुर्लुङ गाउँ पञ्चायतमा पर्दथ्यो । पृथ्वी राजमार्ग सटेको घांसीकुवा नामले प्रख्याती पाए पछि वि.सं. २०३२ साल तिर कर्लुङ गाउँपञ्चायतले घाँसी गाउँपालिकाको नाम प्राप्त गरेको हो । दुबै घांसीकुवा अहिले तनहुँ जिल्लाको व्यास नगरपालिकामा पर्दछन् । दमौलीको मुसेखोला एवं बुल्दीखोला दोभान नजिकको घाँसीकुवाको बारेमा कुनै पनि पाठ्यक्रममा समावेश भएको पाईंदैन तथापि जिल्लाको सदरमुकाम दमौली बजारबाट ५ किलोमिटर भित्रै भएकै कारण यसैले महत्व प्राप्त गर्दै गएको छ । राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ पूर्वको जनक शिक्षा सामाग्री केन्द्रले प्रकाशन गरेको कक्षा ४ मा पढाइने महेन्द्रमाला नामक पुस्तकमा घाँसीकुवा रिस्ती खोलाको तनहुँ तर्फ रहेको किनारमा रहेको विषय उठान गरेको पाउँदछौं । यसै गरी वि.सं.२०५५ साल जेष्ठ २ गतेको शनिवासरीय परिशिष्टाङ्कको पृष्ठ “ग” मा मुक्तिनाथ घिमिरेले रिस्ती खोलामा रहेको घाँसीकुवा नै असली घाँसीकुवा भएको दावी गर्नु भएको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट १६ किलोमिटर टाढा लमजुङ जिल्लाको सिमानामा भएकै कारण क्यामिनको रिस्ती खोलामा अवस्थित घाँसीकुवा ओझेलमा पर्न गएको छ । जे होस नेपालका आदिकवि भानुभक्त आचर्य र घाँसीको सम्वाद भएको वास्तविक घाँसीकुवा कुन चांँही सही हो भन्ने विषयमा सही निर्क्योल गर्ने बेला आएको छ।
नेपालको मध्यविन्दु शिःसाघाट हुलाकी चौतारा :
विश्व मानचित्रमा नेपाल ८०’—४” देखी ८८’—१२” पूर्वी देशान्तर र २६’—२२” देखी ३०’— २७” उत्तरी अक्षाँसमा पर्दछ भने तनहुँ जिल्ला ८३’—७५” देखी ८४’—३४” पूर्वी देशान्तर र २७’—७५” देखी २८’— ०५” उत्तरी अक्षांँशमा फैलिएको छ । शिःसाघाटको हुलाकी चौतारा ८४’डिग्री १३ मिनेट १३ सेकण्ड पूर्वि देशान्तर र २८’डिग्री ०५ मिनेट ३१ सेकेण्ड र शिःसाघाट ८४’डिग्री १३ मिनेट ३६ सेकण्ड पूर्वि देशान्तर र २८’डिग्री ०५ मिनेट ३२ सेकेण्ड रहेको छ । यसरी शिःसाघाट र शिःसाघाटको हुलाकी चौतारा अक्षांश र देशान्तरको हिसावले पनि नेपालको मध्यविन्दुमा पर्दछ भन्न सकिन्छ ।
नेपालका पूर्व पश्चिम लम्बाइ ८८५ मिटर रहेको छ । उत्तर दक्षिण लम्वाई अधिकत्तम २४१ मिटर र न्यूनत्तम चौडाई १४५ कि.मि. देखिंदा सरदर चौडाई १९३ कि.मि.हुन आउँदछ । नेपालको सरदर दुरी मिल्ने स्थान भनेको अन्नपूर्ण हिमाल र नवलपुरको त्रिवेणी पर्न आउँछ । यसरी अन्नपूर्ण देखि त्रिवेणी सम्मको उत्तर दक्षिणको कुल दुरीको मध्यबिन्दु (९६.५ कि.मि.) तनहुँ जिल्लाको शिःसाघाट क्षेत्र पर्न आउँदछ । त्यसमा पनि शिःसाघाटको हुलाकी चौतारा र पुरानो हुलाकघर रहेको स्थान नै नेपालकै मध्यविन्दु मानिन्छ । कवि धर्मराज द्वारा लिखित “तनहुँको फूलवारी” भन्ने पुस्तकको तनहुँ प्रवेश शिर्षकमा “ पश्चिमोत्तर बीलमादे खोला कास्की र तनहुँको सिमानामा बगिरहेछ ।…. किनभने शिःसाघाट महाकाली तथा मेचीका दुरीको बीच भूखण्ड हो । त्यस्तै भोट र मदेशको दुरी पनि यहींबाट आधा आधा पर्न आउँदो रहेछ ।” लेख्नु भएको र वास्तविक धरातलमा पनि नेपालको मध्यक्षेत्र भएकै कारणले लमजुङ जिल्ला र नवलपुर जिल्लाका मध्यक्षेत्रका नगरपालिकाहरुको नाम नै मध्यक्षेत्र नगरपालिका भनेर राखिएका छन् । अर्को तर्फ मौजुुदा नेपालको नक्साको पूर्वि सिमाना र पश्चिम सिमाना र सरदर चौडाइ भएको स्थानको उत्तरी र दक्षिणी सिमाना मोडेर बीच पार्दा पनि पूर्व पश्चिम एवं उत्तर दक्षिणको मिलनबिन्दु तनहुँको शिःसाघाट नै देखिन आउँछ ।
तनहुँको शिःसाघाटको नागिलाटार स्थित विरुवा खेतको पुछारमा हात्ती ढुङ्गा रहेको छ । हात्ती आकारको ढुङ्गा भएको स्थान हुनाले यस स्थानलाई हात्तीगैरा भनिन्छ । हात्तीगैराको समिपमा एउटा सुरुङ र जङ्गबहादुर कुँवरले मित लगाएको ढुङ्गा पनि रहेको छ ।
लामो समय देखि हात्ती ढुङ्गा , हात्ती गैरा र सुरङ्ग प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन् । ताराकाशुर युद्ध बाट थकित महादेव , महादेव पार्वती बीचको वार्ता, सेण्ट्रीको रुपमा बालगणेश र नीजको उत्पती कथा ,नेपालकै मभ्यबिन्दु हुलाकी चौतारा भएको स्थान शिःसाघाट , विलमादे झरना ,सिसा रह , धन्यै धन्यै गण्डकी अञ्चलको अञ्चल कार्यलय स्थापना गर्ने सरकारको निर्णय कार्यन्वयन हुन नसकेका विषयमा जानकारी लिन सकिनेछ ।। हरेक चतुर्थी र भाद्र शुक्लपक्षको हरिद्रा चतुर्थीका तिथिका दिन हात्तीगैरा गएर हात्ती ढुङ्गालाई गणेश भगवान सम्झेर धुमधामका साथ पूजाआजा गर्ने परम्परा रहेको छ । शिःसाघाट नजिकै रहेको विलमादे खोलाको झरना, ,भालेपहरा, सिसारह, हात्तीढुङ्गा, जङ्गेको मितढुङगा जस्ता प्राकृतिक निसानीले शिःसाघाटमा पर्यटकीय क्षेत्र निर्माण गर्न सकिने प्रशस्त पूर्वाधारहरु पाइन्छन् ।

गलेखामकोट :
सिञ्जा साम्राज्यको पतन पश्चात नै कर्णाली क्षेत्रमा बाइसे र गण्डकी क्षेत्रमा चौबिसे राज्यहरु स्थापना भएका हुन् । चौबिसे राज्य भित्र ढोर, गलेखामकोट, रिसिङ, घिरिङ र तनहुँ पनि पर्दथे । बाइसे चौबिसे कालमा गलेखामकोट राज्य गलेखामकोट – श्याम्घा, गलाफु – साझा, थप्रेक – काभ्रे, भुजिकोट – मनपाङ-वाराही र फोक्सिङ पर्वत लगायत पाँचवटा महाभारत पर्वत श्रीङ्खलाहरुले वेष्टित स्वतन्त्र राज्य थियो । गलेखामकोट राज्य .समुन्द्रसतहको ३२० मिटर उचाइदेखि १२०७ मिटर उचाइसम्म रहेको छ । यहाँका राजा चक्रधर रानाको गृष्मकालीन राजधानी गलेखामकोट र शरदकालीन राजधानी सपनकोटमा रहेको थियो । गलेखामकोटका राजा चक्रधर रानाले थप्रेककोट , भूजिकोट , दगामकोट , बजरकोट मानहुँ लामीडाँडा सम्म आफ्नो बिस्तार गरेका थिए । यहाँ बन्दुक हान्ने मिल्नेगरी सैनिक गढी बनाइउको छ । यही गढी भित्र कोट भैरवीको पूजाआजा हुँदै आएको छ । दमौलीबाट गलेखामकोट सम्म पुग्न १९ किलोमिटर सिन्धुमार्ग भएर जानुपर्दछ । गलेखामकोटको चारै तर्फ सहजै बैरी जान नसकुन भनेर तोष खनेको देखिन्छ भने कोटको सुरक्षार्थ एकै रातमा मदी खोलाबाट ढुङ्गाहरु ल्याएर पर्खाल लगाइएको हो भन्ने किंबदन्ती रहेको छ । हालको तनहुँ जिल्ला भित्रमा तनहुँका साथ साथै मिर्लुङकोट, ऋषिङ , घिरिङ्, गजरकोट , किहुँ (भीरकोट), राजपुर, बन्दिपुर, गलेखामकोट र ढोरराज्यहरु पनि चौबिसे राज्यहरुको गणनामा पर्दथे । तनहुँ , ऋषिङ्, राजपुर, मिर्लुङ्कोट, रामकोट ( रामजाकोट र गजरकोटमा सेनराजाहरुको शासन चलेको थियो भने गलेखामकोट , भूजिकोट र बन्दिपुरमा रानामगर, ढोरमा खान वंश र घिरिङमा समाल वंशीय मल्ल (शाह) राजाहरुको शासन चलेको थियो । तनहुँका राजा दिग्विजय सेनको समयमा गलेखामकोट, मिर्लुङ्, घिरिङ्, गजरकोट, रामजाकोट र ढोर राज्यहरु तनहुँ राज्यमा विलय गराईएको थियो । यी राज्यहरु कहिले स्वतन्त्र र कहिले पराधीन भएर पनि रहन्थे ।
अन्त्यमा गलेखामकोट पुगे पछि विश्रामको लागि केही समय राखी प्रज्ञा परिषदका पदाधिकारी तथा सदस्यहरुको बीचमा परिचय कार्यक्रम , साहित्यिक रचनाहरु पाठ , खाजा पश्चात भावी रणैनैत्तिक योजना तर्जुमा र प्राज्ञसभा बस्ने चयन गरि कार्यक्रमलाई विर्सजन गरिने छ । समाप्त
( – बस्न्यात ऐतिहासिक, पुरातात्विक, संस्कृति, संस्कार र सम्पदाको बारेमा कलम चलाउँछन् । )
• व्यास २, दमौली , तनहुँ ।
























