• विजय अधिकारी (संवाददाता ) प्रहार समाचार । लमजुड, २१ बैशाख २०८३ सोमबार । सार्वजनिक जग्गामाथि फैलिएको अतिक्रमण नियन्त्रणमा कडाइ गर्दै राइनास नगरपालिकाले अतिक्रमणकारीलाई १५ दिनको स्पष्ट अल्टिमेटम दिएको छ। नगर कार्यपालिकाको २०८३ वैशाख १७ गतेको निर्णय कार्यान्वयनमा ल्याउँदै नगरपालिकाले अतिक्रमित जग्गामा बनेका घरटहरा सम्बन्धित व्यक्तिले स्वयं हटाउन सार्वजनिक सूचना जारी गरेको हो।

निर्धारित समयसीमा भित्र संरचना नहटाएमा प्रचलित कानुनअनुसार बलपूर्वक हटाइने र त्यसमा लाग्ने सम्पूर्ण खर्च अतिक्रमणकर्ताबाटै असुल गरिने चेतावनी दिइएको छ।

नगरपालिकाले यो अभियानलाई सार्वजनिक सम्पत्ति संरक्षण र व्यवस्थित नगर विकाससँग जोड्दै कडाइका साथ अघि बढाउने संकेत गरेको छ। साथै, अटेरी गर्नेहरूमाथि आवश्यक कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ। सार्वजनिक जग्गाको दिगो संरक्षणका लागि सबै नगरवासी, स्थानीय सरोकारवाला र सम्बन्धित निकायको सहकार्य अपरिहार्य रहेको नगरपालिकाको भनाइ छ।
























