
आयाे चाड बडादसैँ मुलुकमा , आनन्द बर्षा भयाे
दुर्गाकाे प्रभु रामकाे सगुणकाे , सर्वत्र चर्चा भयाे
राख्याैँ है जमरा पवित्र दिनमा , गर्दै घटस्थापना
छायाे हर्ष उमङ्ग हिन्दु जनमा , आए मिठा भावना ।।
दुर्गा नाै दिन सम्म पूजन गरी , नाै नाम जप्छाैँ बुझी
तिम्रो शक्ति अपार हे भगवती , हाै सिद्धिदात्री तिमी
देवी कष्ट निवारिणी हजुरका , ती पाउमा पर्दछाैँ
देऊ बुद्धि विवेक उत्तम शिवा , आराधना गर्दछाैँ ।।
मार्यौ दैत्य सबै विशाक्त कलुषी , ती युद्ध संहारमा
हे अम्बे ! जननी कृपा गर सधैँ , याे देश उद्दारमा
हाम्रा दुर्गुण ती हटून् पर रहून् , सन्दिग्धता तिक्तता
हे देवी जगदम्बिका शरणमा , पर्छाैँ सदासर्वदा ।।
बिन्ती गर्छु जगज्जयी सुजनका , कल्याण रक्षा गर
हे आमा करूणा गरी अवनिका , सन्ताप सारा हर
चाँडै दूर रहून् सबै पिर व्यथा , वाधा तथा अड्चन
हे अम्बे! दुखनासिनी हजुरमा , सत् सत् गरेँ प्रार्थना ।।
मानाैँ चाड वडादसैँ रसिक भै , राखेर आत्मीयता
आजैबाट हटून् समस्त जनका , दुर्भाव सङ्किर्णता
श्रद्धा हून् सब चाडपर्व जति छन् , मान्ने गराैँ हर्षले
टक्र्याएँ शुभकामना खुस हुँदै , सम्पूर्णमा गर्वले ।।
- म्याग्दे ३ ,तनहुँ ।
























