प्रहार समाचार । काठमाडौं, ८ असार २०८३ सोमबार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि उम्मेदवारी शुल्क, प्रस्तावक र समर्थकसम्बन्धी व्यवस्था सार्वजनिक गरिएको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार सभापति पदका उम्मेदवारले ५१ हजार रुपैयाँ, पार्टी पदाधिकारीका उम्मेदवारले ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्य पदका उम्मेदवारले २१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। आयोगका अनुसार सभापति पदका लागि उम्मेदवार बन्न १ जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर आवश्यक पर्नेछ।

यस्तै, पदाधिकारी पदका उम्मेदवारका लागि १ जना प्रस्तावक र २१ जना समर्थक तथा केन्द्रीय सदस्यका उम्मेदवारका लागि १ जना प्रस्तावक र ११ जना समर्थकको समर्थन आवश्यक पर्ने व्यवस्था गरिएको छ। उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारले मनोनयन पत्र, शुल्क बुझाएको रसिद वा बैंक भौचर, अनुशासन कारबाही नभएको स्वघोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति पेश गर्नुपर्ने आयोगले जनाएको छ। रास्वपाले महाधिवेशनमा उम्मेदवारी दिन इच्छुक प्रतिनिधिहरूलाई तोकिएको प्रक्रिया पूरा गरी आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ।
















