• विजय अधिकारी ( प्रहार संवाददाता ) चितवन, ७ असार२०७३ आइतबार । आजबाट चितवनमा सुरू भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गर्दै लमजुङका तीन नेताले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्नेमा प्रतिनिधिसभा सदस्य धर्मराज के.सी., पार्वती अधिकारी र पदमराज पन्थी रहेका छन्। तीनै जनाले आ–आफ्नो अनुभव, कार्यक्षमता र संगठन निर्माणको दृष्टिकोण प्रस्तुत गर्दै केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षा सार्वजनिक गरेका हुन्।



सांसद धर्मराज के.सी.ले विधि, सुशासन र नतिजामुखी कार्यशैलीलाई केन्द्रमा राखेर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। वातावरण इञ्जिनियर तथा ऊर्जा, जलवायु परिवर्तन र दिगो विकासका विज्ञ के.सी.ले संगठनलाई आधुनिक, व्यावसायिक र उत्तरदायी ढंगले अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले नीतिगत सुधार, संस्थागत विकास र सक्षम नेतृत्वमार्फत पार्टीलाई थप प्रभावकारी बनाउने योजना रहेको उल्लेख गरेका छन्। त्यस्तै उद्योग तथा वाणिज्य विभागमा केन्द्रीय सदस्यका रूपमा सक्रिय पार्वती अधिकारीले पनि केन्द्रीय समितिमा स्थान बनाउन उम्मेदवारी घोषणा गरेकी छन्। योग्यता, इमानदारी, संगठनप्रतिको प्रतिबद्धता र स्पष्ट राजनीतिक दृष्टिकोणका आधारमा आफूले प्रतिनिधिहरूको विश्वास जित्ने अपेक्षा गरेको अधिकारीको भनाइ छ।

पार्टी निर्माण र संगठन विस्तारमा निरन्तर सक्रिय रहँदै आएकी अधिकारीले महाधिवेशनमार्फत नेतृत्व तहमा जिम्मेवारी खोजेकी हुन्।संस्थापक सदस्य तथा हाल केन्द्रीय प्रवास विभागका सचिव पदमराज पन्थीले गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वैकल्पिक राजनीतिको पक्षमा सुरुदेखि नै सक्रिय रहेको दाबी गर्दै उनले पार्टीलाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौं महानगरपालिकाको निर्वाचनअघि स्वतन्त्र उम्मेदवार बालेन शाहलाई सहयोग गरेको उल्लेख गरेका पन्थी २०८० सालदेखि रास्वपाको केन्द्रीय प्रवास विभागको सचिवका रूपमा कार्यरत छन्।




















