• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, ७ असार २०८३ आइतबार । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्ने उद्देश्यसहित सवारी साधनमा अनावश्यक रूपमा झुण्ड्याइएका झल्लर, पर्दा तथा विभिन्न सजावटका सामग्री हटाउने विशेष अभियान सुरु गरेको छ। ट्रक, बस, ट्याक्टर लगायतका सवारी साधनमा चालकको दृश्य अवरुद्ध हुने गरी जथाभावी सजावट गर्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले कडाइका साथ अभियान अघि बढाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका इकाइहरूले नियमित चेकजाँचका क्रममा धेरै सवारी साधनमा कानुनविपरीत झल्लर तथा सजावटका सामग्री टाँगिएको पाएको जनाएको छ। यस्ता सामग्रीका कारण चालकले पछाडिको दृश्य हेर्ने ऐना तथा दायाँ–बायाँको अवस्था स्पष्ट रूपमा देख्न नसक्ने, यात्रुहरूलाई असहज र गुम्सिएको वातावरण सिर्जना हुने तथा आकस्मिक अवस्थामा बाहिरी दृश्य अवलोकन गर्न कठिनाइ हुने गरेको पाइएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख गौतम खत्रीका अनुसार सवारी साधनमा जथाभावी झुण्ड्याइने झल्लर तथा सजावटका सामग्री प्राविधिक र कानुनी दुवै दृष्टिले अनुपयुक्त मात्र होइन, गैरकानुनी समेत हुन्।

यस्ता सामग्रीले दुर्घटनाको जोखिम बढाउने भएकाले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै हटाउने अभियान सञ्चालन गरिएको उनले बताए।ट्राफिक प्रहरीले सवारी चालक, सहचालक तथा व्यवसायीहरूलाई सवारी ऐन तथा नियमावलीअनुसार मात्रै सवारी सञ्चालन गर्न आग्रह गरेको छ। सडक सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा लापरबाही नगर्न चेतावनी दिँदै ट्राफिक प्रहरीले अभियानलाई अझ प्रभावकारी र निरन्तर बनाइने जनाएको छ।





















