प्रहार समाचार । काठमाडौं, १७ असार २०८३ बुधबार । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव विवादमा परेको छ । यसै विवादका बिच उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्तावको उद्देश्य राजस्व संकलन नभई सडक अनुशासन कायम गर्नु रहेको दावी गरेका छन् । ब

उनले ट्राफिक नियम उल्लंघनका घटना दिनप्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै रातो बत्तीमा सवारी कुदाउने, लेन अनुशासन पालना नगर्ने, जेब्रा क्रसिङको नियम उल्लंघन गर्ने, जथाभावी ओभरटेक गर्ने तथा तोकिएको सीमाभन्दा बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढिरहेको बताए। एसएसपी काफ्लेका अनुसार जरिवाना कडा बनाउनुको मुख्य उद्देश्य चालकमा “नियम मिचे महँगो पर्छ” भन्ने चेतना विकास गर्नु हो। नियम उल्लंघन गरेमा ठूलो आर्थिक दण्ड तिर्नुपर्छ भन्ने मनोवैज्ञानिक प्रभावले चालकहरू थप जिम्मेवार र अनुशासित बन्ने उनको विश्वास छ।
उनले विशेषगरी मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनु अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गर्दै यसले चालक स्वयंको मात्र होइन, निर्दोष नागरिकको ज्यानसमेत जोखिममा पार्ने बताए। उनले जरिवानाको रकम धेरै वा कम भन्ने बहसभन्दा पनि ट्राफिक नियमको पूर्ण पालना नै सबैभन्दा महत्वपूर्ण विषय भएको स्पष्ट पारे। “यदि चालकले ट्राफिक नियम उल्लंघन नै गर्दैन भने ५० हजार होस् वा १ लाख रुपैयाँ जरिवाना, त्यसको उसलाई कुनै सरोकार रहँदैन,” उनले भने। सडक दुर्घटना न्यूनीकरण, सुरक्षित यातायात व्यवस्था र जिम्मेवार चालक संस्कृतिको विकासका लागि कडा कानुनी व्यवस्था आवश्यक रहेको उनको जोड छ।





















