प्रहार समाचार । काठमाडौं, ११ असार २०८३ बिहीबार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाबारे उठेका प्रश्नमा स्पष्टीकरण दिएका छन्।

उनले नतिजा प्रक्रिया पारदर्शी र निर्धारित विधिअनुसार भएको दाबी गर्दै यसप्रति आफूहरू स्पष्ट र विश्वस्त रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरिएको उल्लेख गरेका छन्। आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर निर्धारित समयमै नतिजा प्रकाशन गरिएको उनको भनाइ छ। उनले नतिजा प्रक्रियालाई लिएर शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा आफ्ना धारणा राख्ने अधिकारको सम्मान गरिनुपर्ने बताएका छन्।

त्यस्तै, विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा आएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले शान्तिपूर्ण आन्दोलन गरिरहेका व्यक्ति वा समूहप्रति गालीगलौज तथा दुर्व्यवहार नगर्न आग्रह गरेका छन्।यसैबीच, नतिजा प्रक्रियाको विश्वसनीयता सुनिश्चित गर्न शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क र डेटा इन्ट्री प्रमाणीकरण (Verification) गर्न समिति गठन गरिएको मन्त्री पोखरेलले जानकारी दिएका छन्।




















