प्रहार समाचार । तनहुँ, १२ असार २०८३ बिहीबार । तनहुँको व्यास नगरपालिका–३ स्थित सफा सडक क्षेत्रमा रहेको कृष्मा मेडिको फर्मा नजिक विद्युत पोलमा तारमाथि तार खप्ट्याएर गरिएको जोखिमपूर्ण लाइन विस्तारको काम अन्ततः सुधार गरिएको छ। असार ८ गते प्रहार अनलाइन मिडियामा ‘विद्युत प्राधिकरणको लापरवाहीले दमौलीमा जोखिम बढ्यो, पोलमा तारमाथि तार खप्ट्याएर लाइन विस्तार’ शीर्षकमा समाचार प्रकाशित भएपछि नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले आवश्यक प्राविधिक व्यवस्थापन गरी समस्या समाधान गरेको हो।

यसअघि प्राधिकरणले आवश्यक संरचना तथा एङ्गल प्रयोग नगरी विद्यमान तारमाथि अर्को तार खप्ट्याएर लाइन विस्तार गरेको भन्दै स्थानीयवासीले गम्भीर आपत्ति जनाएका थिए। बजार क्षेत्र तथा बाक्लो मानव बस्तीको बीचमा रहेको पोलमा गरिएको उक्त कार्यले सर्ट सर्किट, तार चुँडिने तथा आगलागी जस्ता दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीयले तत्काल सुधारको माग गरेका थिए।समाचार प्रकाशनपछि नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख पवन पौडेल को निर्देशनमा प्राविधिकहरूको टोली उक्त स्थानमा पुगेको थियो।

टोलीले सिमेन्टको पोलमा आवश्यक एङ्गल तथा संरचना जडान गरी तारमाथि तार खप्ट्याएर गरिएको व्यवस्थापनलाई हटाउँदै प्राविधिक मापदण्डअनुसार विद्युत लाइन व्यवस्थापन गरेको छ।वितरण केन्द्र प्रमुख पौडेलले सञ्चारमाध्यम र स्थानीयवासीबाट उठाइएका विषयलाई गम्भीरतापूर्वक लिँदै आवश्यक प्राविधिक सुधार गरिएको बताए। उनले विद्युत पूर्वाधारलाई सुरक्षित र व्यवस्थित बनाउने कामलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै यस्ता समस्या देखिए तत्काल जानकारी गराउन समेत आग्रह गरे।

कृष्मा मेडिको फर्माका सञ्चालक कृष्ण गिरीले समाचार प्रकाशनपछि तत्काल समस्या समाधान भएको भन्दै नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिएका छन्। उनले दमौली बजार तथा नगर क्षेत्रका अन्य स्थानमा रहेका जोखिमयुक्त पोल र तार व्यवस्थापनको अवस्थासमेत अध्ययन गरी आवश्यक सुधार गर्नुपर्ने बताए। सञ्चारमाध्यमले उठाएको विषयप्रति प्राधिकरणले चासो देखाएर छिटो समाधान गरेको भन्दै उनले सम्भावित दुर्घटना टार्न समयमै कदम चालिनु सकारात्मक भएको प्रतिक्रिया दिए।स्थानीयवासीले पनि जोखिमपूर्ण अवस्था हटेपछि राहत महसुस गरेका छन्। उनीहरूले सार्वजनिक सुरक्षासँग जोडिएका यस्ता विषयमा सम्बन्धित निकायले नियमित अनुगमन गर्दै प्राविधिक मापदण्डअनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। समाचारको प्रभावपछि गरिएको सुधारले सम्भावित दुर्घटना रोक्न मद्दत पुगेको भन्दै स्थानीयले यसलाई सकारात्मक उदाहरणका रूपमा लिएका छन्।




















