प्रहार समाचार । तनहुँ, ११ असार २०८३ बिहीबार । तनहुँको ऋषिङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, पारदर्शिता र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको २१औँ गाउँसभामा अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैभ भ्रष्टाचार नियन्त्रण, सार्वजनिक खर्चको प्रभावकारी व्यवस्थापन, डिजिटल प्रशासन र सार्वजनिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छन् ।

गाउँपालिकाले प्रत्येक महिनाको आय–व्यय विवरण सार्वजनिक गर्ने, नियमित सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षण सञ्चालन गर्ने र भ्रष्टाचार तथा अनियमितताविरुद्ध कडा निगरानी गर्ने नीति अघि सारेको छ। विकास योजना, ऐन, नियम, निर्देशिका तथा कार्यविधिलाई वेबसाइट, मोबाइल एप्स र सञ्चार माध्यममार्फत सार्वजनिक गरी सेवा प्रवाहलाई थप पारदर्शी बनाइने जनाइएको छ।नागरिकका गुनासोको छिटो सुनुवाइका लागि गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाइने तथा नागरिक सहायता कक्ष (हेल्प डेस्क) सेवालाई थप सुदृढ गरिने कार्यक्रम पनि समावेश गरिएको छ।
सम्पन्न योजनाको सार्वजनिक परीक्षण, नियमित अनुगमन र समयमै हस्तान्तरण सुनिश्चित गरिनुका साथै सार्वजनिक सम्पत्ति तथा जग्गाको अभिलेखीकरण र संरक्षणमा विशेष ध्यान दिइने भएको छ।गाउँपालिकाले आफ्नो दोस्रो पञ्चवर्षीय आवधिक योजनासँग समन्वय हुने गरी मध्यकालीन खर्च संरचना तयार पार्दै विकास आयोजना व्यवस्थापन र सार्वजनिक खर्चलाई वैज्ञानिक, परिणाममुखी तथा उत्तरदायी बनाउने नीति लिएको छ।सामाजिक विकृति तथा विसंगति नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ। धूम्रपान, मद्यपान, जुवा, तास तथा लागू पदार्थ दुव्र्यसन न्यूनीकरणका लागि सचेतनामूलक अभियान सञ्चालन गरिने तथा सुरक्षित र मर्यादित समाज निर्माणका कार्यक्रम अघि बढाइने भएको छ।
प्रविधिको प्रयोगलाई व्यापक बनाउँदै गाउँपालिका तथा मातहतका कार्यालयलाई कागजरहित बनाउने लक्ष्यसहित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली, डिजिटल हाजिरी र डिजिटल अभिलेखीकरण प्रणाली लागू गरिने भएको छ। यसले प्रशासनिक कामकारबाहीलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ। सार्वजनिक सुरक्षालाई थप मजबुत बनाउन वडा कार्यालय तथा संवेदनशील सार्वजनिक स्थानहरूमा सिसिटिभी क्यामेरा जडान गरी सुरक्षा निकायसँगको समन्वयमा निगरानी प्रणाली विस्तार गरिने कार्यक्रमसमेत समावेश गरिएको छ। वातावरण संरक्षणतर्फ प्लास्टिकजन्य फोहोर न्यूनीकरण, वातावरणमैत्री सामग्रीको प्रयोग प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ।अध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले सुशासन, प्रविधिमैत्री सेवा, सामाजिक उत्तरदायित्व, सार्वजनिक सुरक्षा, वातावरण संरक्षण तथा दिगो विकासमार्फत ऋषिङ गाउँपालिकालाई आधुनिक र उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।




















