हेडलाईनसमाचारभानुगण्डकी

तनहुँको भानु नगरपालिकाको ८४ करोडभन्दा बढीको बजेट सार्वजनिक

तनहुँ, असार ११ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ३८ लाख ९० हजार ५६८ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले जन्मस्थल विकासलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्दै संघीय सरकारले विनियोजन गरेको २४ करोड रुपैयाँ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

 

हिंजो सम्पन्न १८औँ नगरसभामा उपप्रमुख उमा गोतामेले बजेट प्रस्तुत गर्दै “जीवनमा एक पटक त अवश्य जाऔं, भानुभक्तको घर आँगन रमाऔं” भन्ने नारासहित जन्मस्थल क्षेत्रको चौतर्फी विकास, संरक्षण र प्रवर्द्धनका कार्यक्रम अघि सारिएको जानकारी दिनुभयो। नगरपालिकाले यस योजनालाई सफल बनाउन संघ, प्रदेश तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्ने जनाएको छ।सार्वजनिक गरिएको बजेटमध्ये ५७ करोड ८८ लाख ९० हजार ५६८ रुपैयाँ चालुतर्फ तथा २६ करोड ५० लाख रुपैयाँ पुँजीगततर्फ विनियोजन गरिएको छ। कुल बजेटको झण्डै ६९ प्रतिशत चालु खर्चमा र ३१ प्रतिशत विकास निर्माण तथा पूर्वाधारका योजनामा खर्च गरिनेछ।

नगर प्रमुख आनन्दराज त्रिपाठीले कृषि, पशुपालन, मत्स्यपालन र पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अगाडि बढाइएको बताउनुभयो। उहाँका अनुसार किसानलाई प्रोत्साहन गर्न दूध उत्पादनमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ भने हाटबजार व्यवस्थापन, पशु स्वास्थ्य शिविर सञ्चालन र उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। मत्स्यपालन प्रवर्द्धनका लागि प्राविधिक तालिमको व्यवस्था गरिएको छ।शिक्षा क्षेत्रतर्फ ‘हाम्रो भानु’ स्थानीय पाठ्यक्रमलाई थप प्रभावकारी बनाइने, कक्षा ६ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम विस्तार गरिने तथा चालु आर्थिक वर्षभित्र कम्तीमा तीन वटा वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य राखिएको छ।

नगरसभामा विभिन्न विषयगत समितिका प्रतिवेदन प्रस्तुत गरिनुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न शाखाका १९ जना राष्ट्रसेवक कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। भानु नगरपालिकाले आगामी वर्ष पर्यटन, कृषि उत्पादन र शिक्षा सुधारलाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाउने संकेत गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button