प्रहार समाचार । तनहुँ, १८ असार २०८३ बिहीबार । तनहुँको दमौलीस्थित पृथ्वीराजमार्गको मुख्य सडक खण्डको दायाँबायाँ लेनमा अब कुनै पनि सवारी साधन पार्किङ गर्न नपाइने भएको छ। बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङका कारण निम्तिएको दुर्घटनाको जोखिम न्यूनीकरण तथा पैदल यात्रुको सुरक्षित आवतजावत सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ र व्यास नगर प्रहरीले संयुक्त रूपमा सडक किनार पार्किङ नियन्त्रण अभियान सुरु गरेका हुन्।

आजदेखि सञ्चालनमा आएको अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि निगरानी बढाइएको छ। ट्राफिक प्रहरीले सडकलाई पार्किङस्थल बनाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउनुका साथै पैदल यात्रुलाई समेत सास्ती भएको निष्कर्ष निकाल्दै अब नियम उल्लंघन गर्नेमाथि कानुनबमोजिम कडा कारबाही गरिने जनाएको छ।सरोकारवाला निकायले सार्वजनिक सडक सबैको साझा सम्पत्ति भएकाले आफ्नो सुविधाका लागि सडक लेन ओगटेर सवारी पार्किङ नगर्न चालक तथा व्यवसायीलाई आग्रह गरेका छन्।

बजार क्षेत्रमा पार्किङको अनुशासन कायम भएमा सवारी व्यवस्थापन प्रभावकारी हुने, ट्राफिक जाम घट्ने र आपत्कालीन सवारीको आवागमनसमेत सहज हुने विश्वास गरिएको छ। ट्राफिक प्रहोले यो अभियानलाई निरन्तरता दिँदै नियम उल्लंघन गर्ने जो–कोहीलाई छुट नदिने स्पष्ट सन्देश दिएको छ। सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले ट्राफिक नियमको पालना गर्न, तोकिएको स्थानबाहेक अन्यत्र सवारी पार्किङ नगर्न र सुरक्षित तथा सभ्य यातायात संस्कृतिको विकासमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरिएको छ।



















