हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

भानुभक्तलाई आदिकवि बनाउने प्रेरणास्थलको पुनर्जन्म : साढे तीन करोडको लागतमा घाँसीकुवा र भानु–घाँसी स्मारक पार्क पुनर्निर्माण सुरु

• शंकरराज नहर्की ( प्रहार समाचार ) तनहुँ, २३ जेठ २०८३ शनिबार । नेपाली साहित्यको इतिहासमा अमिट छाप छोडेको र आदिकवि भानुभक्त आचार्यलाई जीवनको सबैभन्दा महत्वपूर्ण प्रेरणा प्रदान गरेको ऐतिहासिक ‘घाँसीकुवा’ फेरि नयाँ स्वरूपमा उठ्ने भएको छ। पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा पूर्वी सडकखण्ड विस्तारका क्रममा क्षति पुगेको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित भानु–घाँसी स्मारक पार्क तथा घाँसीकुवाको पुनर्निर्माण कार्य औपचारिक रूपमा अघि बढेको छ।

 

भानु–घाँसी स्मारक पार्क संरक्षण समितिका अध्यक्ष अमृत पन्थका अनुसार एशियन डेभलपमेन्ट बैंक (एडीबी), मुग्लिन–पोखरा पूर्वी सडकखण्ड आयोजना, परामर्शदाता कम्पनी तथा निर्माण कम्पनीबीच भएको छलफलपछि समितिले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार निर्माण कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको हो। उनले भानुभक्त र घाँसीको ऐतिहासिक जम्काभेट भएको यस पवित्र स्थलको पुनर्निर्माणमा सहयोग गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।

नेपाली साहित्यमा अमर बनेको भानुभक्तको प्रसिद्ध कविता—

“मेरा इनार, न त सत्तल पाटी केही छन्,

जे चिज र धनहरू छन् घरभित्र नै छन् ।

त्यस घाँसीले कसरी आज दियेछ अर्ति,

धिक्कार हो मकन बस्नु नराखी कीर्ति ।”

यही घाँसीकुवाको प्रेरणाबाट जन्मिएको मानिन्छ। ससुराली मानहुँ जाने क्रममा भानुभक्तले एक घाँसीसँग भेट गरेका थिए। घाँस काटेर जीविका चलाउने ती साधारण व्यक्तिले आफूले कमाएको पैसाबाट गाउँका लागि कुवा खनाएको सुनाएपछि भानुभक्त गहिरो रूपमा प्रभावित भएका थिए। त्यसै प्रेरणाले उनले लोकभाषामा रामायण अनुवाद गर्ने संकल्प गरेका थिए, जसले नेपाली भाषाको विस्तार र विकासमा ऐतिहासिक योगदान पुर्‍यायो। भानु–घाँसी स्मारक पार्क संरक्षण समितिको अगुवाइमा तयार पारिएको तीन करोड ५३ लाख रुपैयाँ बराबरको डीपीआर अनुसार पार्कलाई आधुनिक र आकर्षक स्वरूपमा पुनर्निर्माण गरिने भएको छ। योजनाअन्तर्गत पार्कभित्र पदमार्ग, बगैँचा, आधुनिक शौचालय, प्रतिक्षालय, बस्ने स्थल, पर्खाल, सूचना पाटी, मञ्च, मूर्ति स्थल, पार्किङ क्षेत्र तथा अन्य संरचनात्मक पूर्वाधार निर्माण गरिनेछ। सडक विस्तार आयोजनाले गरेको प्रतिबद्धताअनुसार यी संरचनाहरू डीपीआरकै आधारमा निर्माण गरिने जनाइएको छ। अध्यक्ष पन्थले पुनर्निर्माणपछि घाँसी र भानुभक्तको प्रेरणादायी सम्बन्धलाई थप जीवन्त बनाउँदै यस स्थललाई तनहुँको मात्र नभई सिङ्गो देशकै साहित्यिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे। उनका अनुसार अहिले कुवाको संरक्षणका लागि आवश्यक संरचना निर्माण तथा मेसिनरी वाल बनाउने कार्य अघि बढिरहेको छ।

कुवा, आधुनिक शौचालय, प्रतिक्षालयलगायतका काम डीपीआरअनुसार क्रमशः सञ्चालन भइरहेका छन्। व्यास नगरपालिकाका संस्थापक नगरप्रमुख तथा समितिका संस्थापक अध्यक्ष ताराप्रसाद श्रेष्ठले यो स्थल नेपाली भाषा, साहित्य र संस्कृतिको गौरवसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताए।

तनहुँका अग्रज साहित्यकार तथा भानु अध्ययनका अध्येता काशीनाथ न्यौपानेले घाँसीकुवा तनहुँको मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको गौरवको विषय भएको उल्लेख गर्दै यसको संरक्षणमा स्थानीय, प्रदेश र सङ्घीय सरकारसँगै पर्यटन विभाग, साहित्यिक संस्था तथा आम नागरिकले विशेष चासो दिनुपर्ने बताए।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले घाँसीकुवा ऐतिहासिक र प्रेरणादायी स्थल भएकाले यसलाई जीवित राख्नु आवश्यक रहेको बताए। उनका अनुसार यही क्षेत्रबाट ऐतिहासिक तनहुँसुर दरबार जाने मार्ग पनि जोडिएकाले यहाँ स्थापना गरिएको सूचना केन्द्र सडक विस्तारका क्रममा भत्किएको छ। पुनर्निर्माणसँगै सूचना केन्द्रसमेत पुनः निर्माण गरिने तयारी रहेको उनले जानकारी दिए। न्यौपानेले घाँसीकुवाले समाजलाई एउटा महत्वपूर्ण सन्देश दिइरहेको उल्लेख गर्दै न्यून आय भएका साधारण व्यक्तिले पनि आफ्नो कर्म र योगदानबाट समाजलाई प्रेरणा दिन सक्छन् भन्ने उदाहरण यही स्थलले प्रस्तुत गरेको बताए।

हाल रहेको कुवाभन्दा केही तलको भागमा घाँसीकुवालाई व्यवस्थित रूपमा पुनर्स्थापना गरी यसको ऐतिहासिक महत्व अझ स्पष्ट रूपमा प्रस्तुत गरिने तयारी गरिएको छ। निर्माण सम्पन्न भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले घाँसी र भानुभक्तको प्रेरणादायी कथा प्रत्यक्ष अनुभूति गर्न सक्ने वातावरण तयार गरिने संरक्षण समितिको भनाइ छ। घाँसीको सम्मानमा तनहुँमा तत्कालीन समयमा एउटा गाविसकै नाम ‘घाँसीकुवा’ राखिएको थियो। हाल उक्त क्षेत्र व्यास नगरपालिकाको वडा नम्बर १२ मा समायोजन भएको छ। दमौली बजारबाट करिब पाँच किलोमिटर पूर्वमा रहेको यो स्थल नेपाली साहित्यको इतिहाससँग प्रत्यक्ष रूपमा जोडिएको स्थानका रूपमा परिचित छ।

घाँसीको वास्तविक पहिचानबारे विभिन्न मत रहे पनि कुवानजिकैको पोल्याङ गाउँमा बसोबास गर्ने पन्थ थरका ब्राह्मण नै तत्कालीन घाँसी हुन सक्ने अनुमान गरिएको भानु–घाँसी स्मारक पार्क संरक्षण समितिका संस्थापक प्रेमप्रकाश भट्टराई बताउँछन्। उनका अनुसार लामो समयदेखि ओझेलमा परेको यो ऐतिहासिक सम्पदा अब गुरुयोजनाअनुसार पुनर्जीवित हुन लाग्नु अत्यन्तै खुसीको विषय हो।भानुभक्तलाई लोकसेवा, समाजसेवा र कीर्तिको महत्व बुझाउने घाँसीको त्यो साधारण प्रेरणाले नेपाली साहित्यलाई आदिकवि दिएको थियो। आज त्यही प्रेरणाको साक्षी बनेको घाँसीकुवा फेरि एकपटक नयाँ स्वरूपमा उठ्दैछ। इतिहास, साहित्य, संस्कृति र पर्यटनलाई एकै सूत्रमा बाँध्ने यो पुनर्निर्माण केवल एउटा संरचना निर्माणको काम मात्र होइन, नेपाली पहिचानको एउटा अमूल्य अध्यायलाई पुनः जीवन दिने अभियानका रूपमा हेरिएको छ।

       

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button