आँबुखैरेनीहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

रास्वपा तनहुँको प्रथम जिल्ला अधिवेशन भोलि, नेतृत्व चयनमा बास्तोला–न्यौपानेबीच प्रतिस्पर्धा

प्रहार समाचार । तनहुँ, २३ जेठ२०८३ शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशन भोलि (जेठ २४ गते आइतबार) दमौलीमा हुँदैछ। नयाँ जिल्ला नेतृत्व चयन गर्ने उद्देश्यसहित आयोजना गरिएको अधिवेशनले सभापतिदेखि विभिन्न महत्वपूर्ण पदमा नयाँ जिम्मेवारी तय गर्ने भएकाले जिल्लाभरका नेता–कार्यकर्ता तथा प्रतिनिधिको चासो केन्द्रित भएको छ।अधिवेशनमा सभापति पदका लागि हालका जिल्ला संयोजक विश्व बास्तोला र डा. शेष रमण न्यौपानेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

 

दुवै पक्षले आफ्नो पक्षमा माहोल बनाउन अन्तिम चरणको तयारीलाई तीव्र बनाएका छन्। यसैगरी उपसभापति पदका लागि पदमराज न्यौपाने, किसान प्रधान, सीता अधिकारी र विष्णु पन्थ चुनावी मैदानमा छन् भने सचिव पदमा अनिल श्रेष्ठ र दीपक ढकालबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।सहसचिव पदमा पदमबहादुर सुनार, सागर अधिकारी क्षेत्री र दुर्गाकुमार श्रेष्ठ चुनावी मैदानमा छन् ।


जिल्ला सदस्य पदमा महिला तथा पुरुषतर्फ उल्लेख्य संख्यामा उम्मेदवारी परेको छ। सदस्य पदका लागि सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, शशी रुपाखेती, हरिकुमार श्रेष्ठ, केशबहादुर थापा, चिरञ्जीवी सापकोटा, महमद सतार मियाँ, विरेन्द्र भण्डारी र विश्वराज न्यौपाने ले उम्मेदवारी दर्ता गराएका छन् ।


यस्तै, क्षेत्र नम्बर १ को संयोजक पदमा कृष्णप्रसाद पन्त (वासु), जगराम गुरुङ र सुन्दर बस्याल बीच प्रतिस्पर्धा हुने भएको छ। क्षेत्र नम्बर १ को उपसंयोजकमा सूर्यबहादुर क्षेत्री, सचिवमा वीर सुब्बा गुरुङ तथा सदस्य पदमा बलबहादुर विक र रञ्जित आले उम्मेदवार बनेका छन्। क्षेत्र नम्बर २ को उपसंयोजक पदमा सम्झना सुवेदी उम्मेदवार रहेकी छन् भने सदस्य पदमा भरतकुमार श्रेष्ठ र स्निता परियारले उम्मेदवारी दिएका छन्।

अधिवेशनले जिल्ला कार्य समितिसँगै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ का निर्वाचन क्षेत्र समिति तथा सात सदस्यीय संरचनासमेत टुंगो लगाउनेछ। उम्मेदवार मनोनयनका लागि आज बिहान १० बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो।

मनोनयन प्रक्रिया सम्पन्न भएसँगै नेतृत्व चयनको राजनीतिक सरगर्मी बढेको छ। रास्वपाका महाधिवेशन प्रतिनिधि राजु दाहालका अनुसार अधिवेशन भोलि बिहान ९ः३० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। अधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिसकिएको उनले बताए। “स्वच्छ राजनीति, सक्षम संगठन र समृद्ध नेपाल” भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशनले जिल्लामा पार्टी संगठन विस्तार, नेतृत्व विकास तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।

नयाँ नेतृत्व चयनसँगै आगामी कार्यदिशा र संगठन सुदृढीकरणका योजना तय गर्ने प्रमुख उद्देश्यका साथ अधिवेशन आयोजना गर्न लागिएको रास्वपाले जनाएको छ। जिल्लाभरबाट प्रतिनिधि, नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षाका बीच दमौलीमा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ नेतृत्वको बागडोर कसले सम्हाल्ने भन्ने विषयले यतिबेला तनहुँको राजनीतिक वृत्तमा विशेष चर्चा पाएको भएतापनि विश्व बास्तोलाको जित सुनिश्चित जस्तै देखिएको बताइन्छ ।

     

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button