प्रहार समाचार । काठमाडौं, २४ भदौ २०८३ बुधबार । मनसुनी वायुको प्रभाव देशभर कायम रहँदा आज अधिकांश भूभागमा बदलीसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

महाशाखाका अनुसार आज दिउँसो मधेस, कोशी र लुम्बिनीका पहाडी तथा तराई भूभागसहित बागमती र गण्डकीका हिमाली, पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा पनि मध्यम वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।
राति पनि देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा राति एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिएको छ।
















