हेडलाईनसमाचारबागमती

भोटेकोशी विपद्मा उद्धारको दायरा फराकिलो : एकै दिन ४० सहित ४ हजार २० जनाको हवाई उद्धार

प्रहार समाचार । काठमाडौं, २२ भदौ २०८३ सोमबार । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियान थप तीव्र बनाइएको छ। प्रभावित क्षेत्रका नागरिक तथा विदेशी नागरिकलाई सुरक्षित स्थानमा सार्ने अभियानअन्तर्गत सोमबार साँझसम्म हवाई साधनबाट मात्रै ४ हजार २० जनाको उद्धार गरिएको छ।

आज साँझ सम्मको विवरणअनुसार आज मात्रै विभिन्न प्रभावित क्षेत्रबाट ४० जनाको हवाई उद्धार गरिएको छ। हालसम्म उद्धार गरिएकामध्ये ३ हजार ७ सय ३७ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।बाढीका कारण क्षतिग्रस्त तथा जोखिममा रहेका जलविद्युत् आयोजनाका संरचना, पावरहाउस र टनेलमा समेत खोजी अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

टनेलभित्र छिर्दै उद्धार टोलीरसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टिम र आयोजना प्रतिनिधिसहितको टोली पावरहाउस तथा कन्ट्रोल पोइन्टसम्म पुगेर खोजीमा जुटेको छ। लाङटाङ जलविद्युत् आयोजनामा पनि संयुक्त उद्धार टोलीले खोज तथा उद्धार जारी राखेको छ।चिलिमे जलविद्युत् आयोजनामा विदेशी विशेषज्ञसहितको टोलीले मिनी एक्स्काभेटर तथा अन्य उपकरण प्रयोग गरी खोजीलाई तीव्र बनाएको छ। उद्धारकर्मीलाई टनेलभित्र सहज रूपमा आवतजावत गर्न ठूला पाइप प्रयोग गरी हिँड्ने बाटोसमेत निर्माण गरिएको छ।

माथिल्लो त्रिशूली–१ आयोजनामा संयुक्त उद्धार टोली मुख्य प्रवेश टनेलभित्र करिब ४०० मिटरसम्म प्रवेश गरे पनि हालसम्म कुनै व्यक्ति वा महत्वपूर्ण वस्तु फेला पार्न सकेको छैन। त्यस्तै, त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनाका ५८ जना र आयोजना प्रतिनिधिसहितको संयुक्त टोलीले पावरहाउस तथा टनेलमा खोजी गरिरहेको छ।त्रिशूली–३ ‘बी’ आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा नेपाली सेनाका १०० जनासहितको टोलीले तीनवटा बबक्याट प्रयोग गरी खोजी जारी राखेको छ। करिब १० फिट गहिराइसम्म उत्खनन गर्दा संरचना फेला नपरेपछि थप चारवटा एक्स्काभेटर परिचालन गरिएको छ।

पुल नहुँदा तुइन, नयाँ पुल निर्माण तीव्र :

बाढीले क्षति पुर्‍याएका सडक तथा पुलका कारण प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन वैकल्पिक संरचना निर्माणलाई समेत तीव्रता दिइएको छ। नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाका ५५ जना इन्जिनियरिङ फौजले पुल निर्माण गरिरहेका छन्। यसैबीच दुईवटा तुइन निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ।यसले बाढीबाट विच्छेद भएका क्षेत्रबीच अत्यावश्यक आवतजावत तथा राहत सामग्री ओसारपसारमा केही सहजता ल्याउने अपेक्षा गरिएको छ।

९ हजार ३ सयभन्दा बढी सुरक्षाकर्मी मैदानमा :

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनका लागि नेपाली सेनाले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन हुँदै नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको छ। मैलुङदेखि स्याफ्रूबेसीसम्म पैदल गस्तीमार्फत समेत खोज तथा उद्धार भइरहेको छ। सेनाले घाइतेको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारलाई एकसाथ अघि बढाइरहेको जनाएको छ।

आपत्कालीन उपचारमा पनि सेना सक्रिय :

त्रिशूली र धुन्चेमा नेपाली सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार ४ सय ४ जनाले स्वास्थ्य सेवा लिइसकेका छन्।

भौगोलिक कठिनाइ, क्षतिग्रस्त भौतिक संरचना र अवरुद्ध आवागमनका बीच उद्धार टोलीले जमिन, हवाई तथा जलविद्युत् आयोजनाका टनेलसम्म पुगेर खोजीलाई निरन्तरता दिएको छ।भोटेकोशी बाढीपछि बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहतलाई केन्द्रमा राखेर बहुआयामिक अभियान सञ्चालन भइरहेकाले आगामी दिनमा पनि जोखिमयुक्त संरचना र दुर्गम क्षेत्रमा खोजीलाई थप तीव्र बनाउने तयारी गरिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button