प्रहार समाचार । रसुवा, २३ भदौ २०८३ मङ्गलबार । यहि भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी जलविद्युत् आयोजनाको सुरुङभित्र पसेपछि चिनियाँ नागरिक हाइताओको जीवन मृत्युको दोसाँधमा पुग्यो। बाहिर निस्कने बाटो बन्द भएपछि उनी सुरुङको अग्लो भागमा चढेर ज्यान जोगाउन सफल भए। त्यसपछि उनले सुरुङभित्रै अन्धकार, भोक, प्यास र चिसोसँग करिब १० दिन बिताए।‘मसँग भाग्ने कुनै बाटो थिएन।

केवल जीवन जोगाउनु थियो,’ हाइताओले सम्झिए।अन्धकार सुरुङभित्र बितेका ती दिनमा उनलाई आफ्नी ६० वर्षीया दिदी, बिरामी श्रीमती र बच्चाको अनुहार बारम्बार सम्झना आउँथ्यो। ‘म यहाँ मर्न आएको होइन, उनीहरूका लागि जिउनुछ,’ भन्दै उनी आफैंलाई हौसला दिइरहन्थे।भोक र प्यासले शरीर कमजोर हुँदै गएको थियो। दिन–रात छुट्याउन नसक्ने अवस्थामा उनी उद्धार टोलीको आवाजको प्रतीक्षामा थिए। करिब १०औँ दिनमा टाढाबाट झिनो उज्यालो देखियो। उद्धार टोली नजिकिँदै आएको थाहा पाएपछि उनले सकीनसकी ‘गुहार’ भनेर चिच्याए।नेपाली सेना र दक्षिण कोरियाली विशेषज्ञसहितको उद्धार टोलीले उनलाई जीवितै फेला पार्यो। उद्धारपछि उनको मुखबाट पहिलो शब्द निस्कियो—‘पानी।
’काठमाडौँस्थित सैनिक अस्पतालमा उपचाररत हाइताओले चीनमा रहेको आफ्नो परिवारलाई सम्झिँदै भावुक हुँदै भने, ‘मेरो परिवारले म भेटिएको खबर सुन्दा खुसीको आँसु बगाएछ।’आर्थिक कठिनाइका कारण गत फेब्रुअरीमा चिनियाँ नयाँ वर्षसमेत नमनाई रोजगारीका लागि नेपाल आएका हाइताओले आफूले मृत्युको मुखबाट नयाँ जीवन पाएको बताएका छन्। भोटेकोशीको बाढीमा धेरै सहकर्मी बेपत्ता भएको सम्झनाले आफूलाई अझै पीडा हुने बताउँदै उनले आफ्नो उद्धारलाई नेपाली सेना, उद्धार टोली र आफ्नो जिउने इच्छाशक्तिको परिणामका रूपमा लिएका छन्।‘सुरुङको १० दिनको अन्धकारले मलाई एउटा कुरा सिकायो—जिन्दगी जतिसुकै कठिन भए पनि आशाको उज्यालो कहिल्यै मर्न दिनु हुँदैन,’ उनले भने।
















