विचारगण्डकी

राजापानी इच्छेश्वर महादेव : आस्थाको केन्द्र र जनविश्वासको जीवित इतिहास

 

‘धार्मिक तथा सांस्कृतिक महत्व बोकेको राजपानी मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रि र हरिबोधिनी एकादशीका अवसरमा ठूलो मेला लाग्ने गर्दछ। राजापानी इच्छेश्वर महादेवप्रति स्थानीयवासीहरूमा गहिरो आस्था छ। सन्तान नभएका महिलाहरूले महाशिवरात्रिका दिन रातभर उभिएर बत्ती बाल्ने परम्परा आज पनि जीवित छ। यसरी पूजा गरे सन्तान प्राप्त हुने विश्वास रहिआएको छ।’ भन्दै देव बस्न्यात लेख्छन् :

तनहुँ जिल्लाका प्रसिद्ध धार्मिक स्थलहरूमध्ये राजापानी इच्छेश्वर महादेव मन्दिर एक महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। दमौली बजारदेखि करिब १८ किलोमिटर उत्तरतर्फ अवस्थित यो मन्दिर साविक सतिस्वाँरा गाविस–८, हाल व्यास नगरपालिका–९ अन्तर्गत पुरानो गाउँ र कलेस्ती–बिर्ता सडकखण्डको सिस्नेरी फाँटमाथि घना जंगलको बीचमा रहेको छ।

वनको एकान्त वातावरणमा अवस्थित भएकाले स्थानीयवासीले यसलाई ‘जङ्गली महादेव’ भनेर पनि चिन्ने गरेका छन्। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रि र हरिबोधिनी एकादशीका अवसरमा ठूलो मेला लाग्ने गर्दछ। अक्षय तृतीयाका दिन विशेष रुद्री पूजा गरी शिवलिङ्गमा जलधारा चढाउने परम्परा रहेको छ। तारुका, मेवाबारी, कलेस्ती, गजौँडे, सतिस्वाँरा, दमौली, पोखरा, नारायणगढ तथा काठमाडौंलगायतका स्थानबाट श्रद्धालु भक्तजन यहाँ दर्शनका लागि आउने गर्दछन्। विशेषगरी सन्तान प्राप्तिको कामना गरेका दम्पतीहरूले हरिबोधिनी एकादशीका अवसरमा रातभर नारायण पूजा गरी फूलको डोली चढाउने परम्परा रहिआएको छ। महादेवलाई फूलको डोली अर्पण गरे मनोकामना पूरा हुने जनविश्वासका कारण हरेक वर्ष ६० देखि १०० वटासम्म फूलका डोलीहरू यहाँ चढाइने गरिएको छ।

उत्पत्तिको रोचक कथा :

स्थानीय जनश्रुतिअनुसार आजभन्दा केही दशकअघि सतिस्वाँरा निवासी गोपाल भूजेल खेत जोत्ने क्रममा एउटा शिवशिला भेट्टाउनुभयो। उक्त शिलालाई गाउँको देउरालीमा स्थापना गर्ने उद्देश्यले बोकेर लैजान खोजिए पनि सफल हुनुभएन। त्यसपछि उहाँले शिलालाई पर्खालको छेउमा राखेर घर फर्किनुभयो। भोलिपल्ट हेर्दा शिला त्यहाँ भेटिएन। पछि खेतमै पुग्दा उक्त शिला फेरि आफूले फेला पारेकै स्थानमा रहेको देखियो। गोपाल भूजेलले पुनः शिलालाई देउरालीमा लगेर राख्नुभयो, तर अर्को दिन पनि शिला हराएर पुनः पुरानै स्थानमा फेला पर्यो। यसरी लगातार तीन दिनसम्म दोहोरिएको घटनापछि केही समयमै गोपाल भूजेलको अकस्मात् निधन भयो। यस घटनाले गाउँलेहरूलाई आश्चर्यचकित बनायो। पछि देववाणीमार्फत “मलाई जहाँ फेला पारिएको हो, त्यहीँ पूजा गर” भन्ने सन्देश प्राप्त भएको विश्वास गरियो। त्यसपछि गाउँलेहरूले पड्के र कटुसको रुखमुनि शिवलिङ्ग स्थापना गरी पूजा–आराधना सुरु गरेका थिए। स्थानीय अगुवा सूर्यबहादुर थापाका अनुसार यही घटनाबाट राजापानी महादेवको थान स्थापना भएको हो।

पूजाआजाको सुरुवात र विस्तार :

व्यास–९ निवासी देवीबहादुर थापाकी धर्मपत्नी नन्नुकुमारी थापाले सर्वप्रथम हरिबोधिनी एकादशीमा फूलको डोली चढाउने तथा महाशिवरात्रिमा ठाडो बत्ती बाल्ने परम्पराको थालनी गर्नुभएको थियो। त्यतिबेला थपिनी कान्छीका नामले परिचित नन्नुकुमारी थापाले अत्यन्त श्रद्धापूर्वक पूजा–आराधना गरेपछि मन्दिरप्रतिको आस्था क्रमशः फैलिँदै गएको बताइन्छ। वि.सं. १९८८ तिर खोलामा घाँस काट्ने क्रममा शिवशिला देखेपछि उहाँले त्यस स्थानलाई सफा गरी पूजा आरम्भ गर्नुभएको थियो। त्यसपछि स्थानीय ब्राह्मण तारानाथ आचार्यलाई बोलाएर सत्यनारायण पूजा गरी फूलको डोली अर्पण गरिएको इतिहास पाइन्छ।

जनविश्वास र चमत्कारका कथाहरू :

राजापानी इच्छेश्वर महादेवप्रति स्थानीयवासीहरूमा गहिरो आस्था छ। सन्तान नभएका महिलाहरूले महाशिवरात्रिका दिन रातभर उभिएर बत्ती बाल्ने परम्परा आज पनि जीवित छ। यसरी पूजा गरे सन्तान प्राप्त हुने विश्वास रहिआएको छ। स्थानीयवासी उजेली बस्नेतले पनि महादेवको पूजा गरी फूलको डोली चढाएपछि आफूले पुत्ररत्न प्राप्त गरेको अनुभव सुनाएकी छन्। यस्ता अनेकौँ अनुभव र जनविश्वासका कारण मन्दिरको ख्याति वर्षेनि बढ्दै गएको देखिन्छ।भारतको स्वतन्त्रता आन्दोलनका समयमा नेपाली सेनामा कार्यरत देवीबहादुर थापा सुरक्षित रूपमा घर फर्किएपछि उहाँको परिवारमा सन्तान जन्मिएको घटनालाई समेत स्थानीयवासीहरूले महादेवको कृपाका रूपमा लिने गरेका छन्।

वर्तमान अवस्था :

समयक्रमसँगै मन्दिरको महत्व र प्रसिद्धि बढ्दै गएपछि स्थानीय समुदायको सक्रियतामा गजुरसहितको व्यवस्थित मन्दिर निर्माण गरिएको छ। अहिले पनि प्रत्येक एकादशीमा ५० देखि १०० जनासम्म भक्तजनले फूलको डोली चढाउने गरेका छन्। पाउँदी, बिर्ता, काजीफाँट, डोटेलफाँट, सिस्नेरी, गजौँडे, झिनुवाटार, कलेस्ती लगायतका गाउँका श्रद्धालुहरू नियमित रूपमा यहाँ पूजा गर्न आउने गर्दछन्। साथै दमौली, पोखरा, नारायणगढ र काठमाडौंबाट समेत भक्तजनको आगमन हुने गरेको छ।आस्था, विश्वास र लोकपरम्पराको अद्भुत संगम बनेको राजापानी इच्छेश्वर महादेव मन्दिर आज पनि हजारौँ श्रद्धालुहरूको मनोकामना पूरा गर्ने शक्तिस्वरूप पूजित रहँदै आएको छ। धार्मिक आस्था र सांस्कृतिक सम्पदाको अनुपम धरोहरका रूपमा यो मन्दिर तनहुँको गौरवपूर्ण पहिचान बनेको छ। २३ जेठ २०८३ शनिबार ।

(• तनहुँ दमौलीका बस्न्यात इतिहास, परम्परा , संस्कार र संस्कृतिका विषयमा कलम चलाउँछन् । ) – सम्पादक

       

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button