हेडलाईनसमाचारदेवघाटगण्डकी

तनहुँमा बेपत्ताको खोजी तीव्र : तालिमप्राप्त कुकुरसहित प्रहरी टोली त्रिशूली किनारमा परिचालन

प्रहार समाचार । तनहुँ, २१ भदौ २०८३ आइतबार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराइरहेका तथा प्रभावितको खोजीमा तनहुँ प्रहरीले आफ्नो खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा बेपत्ताको अवस्था पत्ता लगाउन तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली त्रिशूली नदी किनारमा परिचालन गरिएको छ।

आइतबार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिमप्राप्त कुकुरसहितको विशेष टोली तनहुँ पुगेपछि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न प्रहरी इकाइको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको हो।प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, बन्दीपुर, देवघाट, साराङघाट तथा अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपका प्रहरी कर्मचारीलाई एकीकृत गरी खोजी अभियान सञ्चालन गरिएको छ।

प्रनाउ द्वारिका प्रसाद घिमिरेको कमाण्डमा परिचालित टोलीले आँबुखैरेनी गाउँपालिका–४ र ५ तथा देवघाट गाउँपालिका–४ र ५ अन्तर्गत मुग्लिङ पुलदेखि देवघाटसम्मको त्रिशूली नदी किनारलाई प्राथमिकतामा राखेर खोजी गरिरहेको छ। बाढीका कारण नदीको बहावसँगै बगेर मानिस तथा अन्य सामग्री नदी किनारका विभिन्न स्थानमा पुग्न सक्ने भएकाले सम्भावित स्थान पहिचान गरी प्रहरी टोलीले व्यवस्थित रूपमा खोजी गरिरहेको जनाइएको छ। तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएपछि यसअघि सामान्य रूपमा खोजी गर्न कठिन हुने सम्भावित स्थानमा समेत खोजीलाई प्रभावकारी बनाउने प्रयास गरिएको प्रहरीको भनाइ छ।

बाढीपछि नदी किनार तथा आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले उद्धारमा खटिएका सुरक्षाकर्मीले उच्च सतर्कता अपनाएका छन्। नदीको बहाव, भौगोलिक अवस्था तथा बाढीले पुर्‍याएको क्षतिलाई ध्यानमा राख्दै टोलीले सम्भावित स्थान पहिचान गरेर खोजी अघि बढाइरहेको छ।भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिपछि नदी प्रणालीसँग जोडिएका क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोजी चुनौतीपूर्ण बनेको अवस्थामा तालिमप्राप्त कुकुरसहितको टोली परिचालनलाई प्रहरीले खोज तथा उद्धार अभियानलाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउने प्रयासका रूपमा लिएको छ।प्रहरीले खोजी अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिने जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button