प्रहार समाचार । काठमाडौं, २२ भदौ२०८३ सोमबार । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले मौसममा सामान्यदेखि आंशिक बदली रहने सम्भावना छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनीसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने जनाएको छ। तस्बिर : प्रहार अनलाइन मिडिया

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी भू–भागमा पनि मौसम पूर्णरूपमा खुला नरहने देखिएको छ। विशेषगरी गण्डकी र बागमती प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुँदा स्थानीय खोलानाला तथा नदीमा पानीको बहाव बढ्नसक्ने भएकाले यात्रा तथा दैनिक कामकाजमा सावधानी अपनाउन आग्रह गरिएको छ। विभागले वर्षाको वास्तविक अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
यसैबीच, लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। विभागको वर्षा अनुगमन प्रणालीले वर्षाको मात्रा र सम्भावित जोखिम क्षेत्रको निगरानी गरिरहेको छ। भारी वर्षा भएमा कमजोर भिरालो जमिन, नदी तथा खोलाको आसपास र बाढी प्रभावित क्षेत्रमा नजान तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न विभागले आग्रह गरेको छ।
















