प्रहार समाचार । तनहुँ, २१ भदौ २०८३ आइतबार । तनहुँको व्यास नगरपालिका–३ मा रहेको सत्यवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वित्तीय कारोबारसँगै सदस्यको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

२०६८ सालमा २९ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा अहिले १ हजार २ सय ५३ जना शेयर सदस्य पुगेका छन्। .साधारण सभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी संस्थाहरूले सदस्यको बचत सुरक्षित गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। उनले सहकारीको दिगोपनाका लागि पारदर्शिता, सुशासन र सदस्यप्रतिको जवाफदेहिता अपरिहार्य रहेको उल्लेख गरे।

समाजसेवी प्रा. डा. कृष्णप्रसाद गौतमले सहकारीलाई केवल बचत तथा ऋणको कारोबारमा सीमित नराखी सदस्यको आयआर्जन र उद्यमशीलता विकाससँग जोड्नुपर्ने बताए। उनले सहकारीले स्थानीयस्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उल्लेख गर्दै उत्पादनमुखी लगानीमा जोड दिए।

सहकारीको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म चुक्ता शेयर पुँजी ७ करोड ६ लाख ३३ हजार ७ सय रुपैयाँ पुगेको छ। गत वर्ष १८ करोड ५७ लाख ४४ हजार २ सय ३५ रुपैयाँ रहेको बचतमा यस वर्ष ४ करोड ५९ लाख ७७ हजार ८ सय ६४ रुपैयाँ वृद्धि भएको छ। यससँगै सहकारीले आर्थिक वर्ष २०८२/८३ मा कुल २३ करोड १७ लाख २२ हजार १ सय रुपैयाँ बचत संकलन गरेको छ।ऋण लगानीतर्फ पनि सहकारीले विस्तार गरेको देखिएको छ। गत वर्ष २२ करोड ५७ लाख ११ हजार ८ सय ८० रुपैयाँ रहेको कुल ऋण लगानीमा आर्थिक वर्ष २०८२/८३ मा ५ करोड ८६ लाख १५ हजार ४ सय ६७ रुपैयाँ थप भएको छ। यससँगै आर्थिक वर्षको अन्त्यमा सहकारीको कुल ऋण लगानी २८ करोड ४३ लाख ३४ हजार ७ रुपैयाँ पुगेको छ।सहकारीले आगामी आर्थिक वर्षमा निक्षेप संकलन र ऋण लगानी दुवैलाई थप विस्तार गर्ने लक्ष्य लिएको अध्यक्ष सूर्यचन्द्र हड्खलेले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०८३/८४ को अन्त्यसम्म २७ करोड ८० लाख ६६ हजार ५ सय २० रुपैयाँ निक्षेप संकलन गर्ने र २९ करोड ३८ हजार ५ सय ७५ रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य राखिएको छ।

सहकारीको १५औँ साधारण सभामा भानु नगरपालिकाका पूर्व नगर प्रमुख उदयराज गौली, नगेन्द्रराज रेग्मी, व्यास नगरपालिका–४ का वडा अध्यक्ष मानबहादुर गुरुङ, नारायणी अधिकारी, अनिल खनाल, सहकारीका उपाध्यक्ष मिनबहादुर कार्की, कोषाध्यक्ष गिरीमाया पोख्रेल (मिश्र) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण सहकारीका सचिव नारायणप्रसाद ढकालले गरेका थिए। साधारण सभामा सहकारीको प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा सदस्यको हितमा सञ्चालन गरिने कार्यक्रमबारे छलफल गरिएको थियो।

त्यस अबसरमा असल ऋणी, सर्वाधिक बचतकती , उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।


















