हेडलाईनसमाचारबागमती

नारायणगढ–मुग्लिनमा फेरि सवारी रोकिँदै, तुइनखोलामा दैनिक ४ पटकसम्म आवागमन अवरुद्ध हुने

प्रहार समाचार । तनहुँ, २१ भदौ २०८३ आइतबार । मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीरमा सडक मर्मतका कारण सवारी आवागमन प्रभावित भइरहेका बेला नारायणगढ–मुग्लिन सडकखण्डमा पनि यात्रु तथा चालकले थप सास्ती व्यहोर्नुपर्ने भएको छ। तुइनखोला क्षेत्रमा सडक आयोजनाको माटो कटान कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक निश्चित समयमा सवारी आवागमनमा आंशिक रोक लगाउने निर्णय गरेको छ। तस्विर : एआई

प्रशासनका अनुसार भदौ २२ गतेदेखि कृष्णभीर सडकखण्डको मर्मत कार्य सम्पन्न भई आवागमन पूर्णरूपमा सञ्चालनमा नआएसम्म नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सवारी साधन रोकिनेछ।कृष्णभीरमा सडक अवरुद्ध भएकाले हाल नारायणगढ–मुग्लिन सडकखण्डमा सवारीको चाप न्यून रहेको र यही अवस्थालाई उपयोग गर्दै तुइनखोला क्षेत्रमा माटो कटानको काम अघि बढाउँदा कम संख्यामा सवारी साधन प्रभावित हुने प्रशासनको भनाइ छ।जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म पहिलोपटक सवारी आवागमन रोकिनेछ। त्यसपछि ८ः३० देखि १०ः३० बजेसम्म, ११ बजेदेखि १ बजेसम्म र १ः३० देखि ३ः३० बजेसम्म पुनः सवारी रोक लगाइनेछ। यस्तै, बिहान ८ देखि ८ः३०, १०ः३० देखि ११, दिउँसो १ देखि १ः३० र ३ः३० देखि ४ बजेसम्म सवारी आवागमन खुला रहनेछ।

त्यसपछि दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म पुनः सवारी आवागमन बन्द गरिने प्रशासनले जनाएको छ। साँझ ६ बजेपछि भने उक्त कार्यतालिकाअनुसार सवारी आवागमन बन्द रहने उल्लेख गरिएको छ।कृष्णभीरमा नयाँ ट्रयाक खोली सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने भएकाले मुग्लिन–काठमाडौं सडकखण्डमा अहिले नै आवागमन सहज हुन नसकेको प्रशासनको भनाइ छ। यही कारण नारायणगढ–मुग्लिन सडकमा समेत सवारीको चाप तुलनात्मक रूपमा कम रहेको समयमा तुइनखोलाको कामलाई तीव्रता दिन लागिएको हो।

प्रशासनले सडकको निर्माण तथा मर्मत कार्यका कारण यात्रामा पर्न सक्ने असहजतालाई ध्यानमा राख्दै चालक तथा यात्रुलाई निर्धारित समयतालिका हेरेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा भदौ २१ गते जारी सूचनामा उल्लेखित कार्यतालिकालाई मध्यनजर गरी सवारी साधन सञ्चालन गर्न तथा यात्रा व्यवस्थापन गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।सडक निर्माणको काम तीव्र पार्ने उद्देश्यले गरिएको यो आंशिक रोकले नारायणगढ–मुग्लिन हुँदै आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीलाई भने दैनिक रूपमा समय मिलाएर यात्रा गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button