प्रहार समाचार । गोरखा । गोरखाको उत्तरी हिमाली क्षेत्र चुमनुब्रीमा थेराङ खोलाले एक्कासि वितण्डा मच्चाउँदा चारवटा घर र मुख्य झोलुङ्गे पुल बगाएको छ। लेदोसहित आएको भीषण बाढीले चुमनुब्री गाउँपालिका–४ नाम्रुङ क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याए पनि स्थानीयवासीले समयमै बाढीको जोखिम थाहा पाएर सुरक्षित स्थानतर्फ भाग्न सफल हुँदा मानवीय क्षति भने हुन पाएन। तस्विर : एआई

आज बिहान आएको बाढीले चुमनुब्री गाउँपालिका–४ नाम्रुङका नुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनका घर बगाएको हो। बाढीले घरसँगै आसपासका संरचनामा समेत क्षति पुर्याएको छ।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठका अनुसार बाढी आउनुअघि नै स्थानीयले जोखिमको संकेत थाहा पाएर सुरक्षित स्थानमा जान सकेकाले ठूलो मानवीय दुर्घटना टरेको हो।बाढीको अर्को ठूलो असर मनास्लु पदयात्रा मार्गमा परेको छ। थेराङ खोलामाथिको मुख्य झोलुङ्गे पुल नै बाढीले बगाएपछि स्थानीयवासीसँगै मनास्लु पदयात्रामा रहेका पर्यटकको आवतजावतसमेत प्रभावित भएको छ।
पुल बगेपछि त्यस क्षेत्रको नियमित आवतजावत तत्कालका लागि ठप्पजस्तै बनेको छ।चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पदयात्री तथा स्थानीयको आवतजावत सहज बनाउन तत्कालका लागि वैकल्पिक तथा अल्पकालीन उपाय खोजिने बताएका छन्। पुल पुनःनिर्माण वा स्थायी समाधान नहुँदासम्म आवतजावत व्यवस्थापनका लागि सम्भावित विकल्प प्रयोग गरिने उनको भनाइ छ।गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानतिर केही समय पहिरो वा लेदोले पानीको बहाव थुनिएर एक्कासि फुट्दा ठूलो परिमाणमा पानी र लेदो तलतर्फ आएको प्रारम्भिक अनुमान छ। त्यसकै कारण थेराङ खोलामा एक्कासि बाढी आएको र आसपासका संरचनामा क्षति पुगेको उनले बताए।
थेराङ खोला अगाडि बढ्दै बूढीगण्डकी नदीमा मिसिने भएकाले बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने जोखिम देखिएको छ। जिल्ला प्रशासन कार्यालय गोरखाले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।एक्कासि आएको बाढीले हिमाली बस्तीमा ठूलो भौतिक क्षति पुर्याएपछि स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएको छ। पुल बगेपछि मनास्लु पदयात्रा क्षेत्रमा रहेका पर्यटक तथा स्थानीयको सुरक्षित आवतजावतलाई तत्काल सहज बनाउनु अहिलेको मुख्य चुनौती बनेको छ।
















