हेडलाईनसमाचारबागमती

बाढीले घर मात्रै बगाएन, ज्येष्ठ नागरिकको जीवनभरको सहारा खोस्यो : ‘आफूलाई एक्लो नठान्नुहोस्, राज्य तपाईंसँग छ’- प्रधानमन्त्री शाह

प्रहार समाचार । काठमाडौं, २० भदौ २०८३ शनिबार । भोटेकोशीको विनाशकारी बाढीले घर, खेतबारी र सम्पत्ति मात्रै होइन, कैयौँ ज्येष्ठ नागरिकको जीवनभरको सहारा र परिवारको संसार नै उजाडिदिएको छ। आफन्त गुमाउनुको पीडा, घरबारविहीन हुनुको विवशता र भविष्यको अन्योलबीच रहेका ज्येष्ठ नागरिकलाई सरकारले उनीहरू एक्ला नभएको सन्देश दिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई बाढी गएको ११ दिनपछि जीवितै उद्धार गरिएको घटनालाई आशाको सन्देशका रूपमा व्याख्या गर्दै खोज तथा उद्धार कार्य अझै नरोकिएको बताएका छन्। प्रधानमन्त्री शाहका अनुसार सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले चन्द्रिका श्रेष्ठलाई जीवितै उद्धार गरेको घटनाले विपद्को अँध्यारोबीच पनि आशा जीवित रहेको देखाएको छ। उनका अनुसार चन्द्रिकाको उमेर समूहका तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई यसअघि नै प्रभावित क्षेत्रबाट उद्धार गरिसकिएको छ।बाढीको भयावह क्षण सम्झिँदै प्रधानमन्त्री शाहले ज्येष्ठ नागरिकले आफ्नै ज्यानको पर्वाह नगरी नातिनातिनालाई च्यापेर सुरक्षित स्थानतर्फ भाग्नुपरेको अवस्थालाई पीडादायी चित्रका रूपमा प्रस्तुत गरेका छन्। लौरो नटेकी दुई पाइला हिँड्न कठिन हुने उमेरका अभिभावकले समेत सन्तान जोगाउन असाधारण साहस देखाउनुपरेको उनको भनाइ छ। बाढी आउनुअघि घरको आँगन, खेतबारी, चौतारी र परिवारसँगको सामान्य दिनचर्यामा रमाइरहेका ज्येष्ठ नागरिक अहिले अस्थायी शिविर र आश्रयस्थलमा पुगेका छन्। वर्षौँको दुःख–सुख, अनुभव र ज्ञान साट्ने चौतारीदेखि आफूले पसिना बगाएर बनाएको घरसम्म सबै कुरा एकैछिनमा बाढीले खोसेपछि उनीहरूको जीवनमा ठूलो रित्तोपन सिर्जना भएको प्रधानमन्त्री शाहले बताएका छन्।

भोटेकोशीको बाढीमा कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी तथा नातिनातिना बगेको हेर्नुपरेको, कतिपयले जीवनसाथी गुमाएर एक्लिनुपरेको र जीवनभर जोडेको घर, खेतबारी तथा पशुपंक्षीसमेत क्षणभरमै गुमाउनुपरेको उनले उल्लेख गरेका छन्। सरकारले प्रभावित ज्येष्ठ नागरिकका लागि अस्थायी आश्रय, राहत, स्वास्थ्य सेवा र आवश्यक जीवनयापनका सुविधा उपलब्ध गराइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई वैकल्पिक आश्रयस्थलमा सारिएको छ। प्रधानमन्त्रीका अनुसार प्रतिष्ठानमा रहेका ७ जना ज्येष्ठ नागरिकलाई काठमाडौंको म्हैपीस्थित नेपाल सिनियर केयरमा र १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको छ। हिँडडुलमा सहजताका लागि ह्वीलचियर तथा वाकर उपलब्ध गराइएको तथा बाढीबाट उत्पन्न मानसिक आघात र शारीरिक कष्ट कम गर्न स्वास्थ्य परीक्षण र मनोसामाजिक परामर्शसमेत सञ्चालन भइरहेको छ। सरकारले अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर प्रभावित ज्येष्ठ नागरिकका लागि सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

प्रधानमन्त्री शाहले बाढीबाट ज्येष्ठ नागरिकको घर, जायजेथा र आश्रय गुमे पनि उनीहरूको अनुभव, स्वाभिमान र मार्गदर्शनको महत्व भने गुम्न नसक्ने बताएका छन्। ज्येष्ठ नागरिकलाई देशको जग र नयाँ पुस्ताको मार्गदर्शकका रूपमा सम्बोधन गर्दै उनले कठिन अवस्थामा पनि मन दह्रो बनाउन आग्रह गरेका छन्।बाढीमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति सरकारले सामूहिक श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। उनीहरू परिवारका मूल खम्बा, संस्कारका संवाहक र ज्ञानका स्रोत रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले उनीहरूको अभावले देश नै शोकमा रहेको बताएका छन्। यसैबीच, आफन्त तथा परिवारका सदस्य गुमाएका नागरिकको आक्रोशलाई सरकारले अस्वाभाविक रूपमा नलिने संकेत पनि प्रधानमन्त्री शाहले गरेका छन्। एकै क्षणमा आफ्नो संसार गुमाएका नागरिकको आक्रोश उनीहरूको पीडा अभिव्यक्त गर्ने माध्यम भएको भन्दै उनले पीडितका आवाजलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका छन्। पीडामा रहेका नागरिकमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने वा थप मानसिक पीडा दिने प्रवृत्तिप्रति भने सरकार कठोर हुने प्रधानमन्त्री शाहको चेतावनी छ।

उता, बाढीपछि भग्नावशेष, दलदल र जोखिमपूर्ण क्षेत्रमा सुरक्षाकर्मीको खोज तथा उद्धार अभियान जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्। आफ्नो ज्यान जोखिममा राखेर उद्धारमा खटिएका सुरक्षाकर्मीको आत्मबल बढाउनु सबैको कर्तव्य भएको उनको भनाइ छ। प्रधानमन्त्री शाहले अन्त्यमा बाढीपीडित ज्येष्ठ नागरिकलाई राज्य र सरकार उनीहरूको साथमा रहेको विश्वास दिलाउँदै कठिन घडीमा आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्।बाढीले धेरै कुरा खोसे पनि जीवनको अन्तिम आशा खोस्न सकेको छैन भन्ने सन्देश चन्द्रिका श्रेष्ठको जीवित उद्धारले दिएको छ। यही आशालाई आधार बनाएर सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button